धमाधम डुब्दै अमेरिकी बैंक, ११५ खर्ब निक्षेप रहेको सिग्नेचर बैंक पनि बन्द

काठमाडौं । अमेरिकी बैंकहरू धमाधम बन्द हुन थालेका छन् । तरलता अभाव, पूँजी संकट, ऋण असुली नहुँदा पछिल्लो एक सातामै ३ वटा बैंक बन्द भएका हुन् ।

शुक्रबार  मात्रै अमेरिकाको १६ औं ठूलो सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनमै आइतबार अर्को वाणिज्य बैंक बन्द भएको छ । आइतबार २२ वर्ष लामो इतिहास भएको सिग्नेचर बैंक पनि बन्द भएको हो ।

अमेरिकी नियामक निकायहरूले आइतबार न्यूयोर्क आधारित सिग्नेचर बैंक पनि बन्द गराएका हुन् । अमेरिकी ट्रेजरी, फेडरल रिजर्भ, र फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी)ले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै सिग्नेचर बैंक बन्द भएको घोषणा गरेका हुन्। सिग्नेचर वाणिज्य स्तरको बैंक हो ।

योसँगै अमेरिकामा पछिल्लो एक सातामै ३ वटा बैंक बन्द भएका छन् । मार्च ९ मा सिल्भरगेट बैंक र शुक्रबार (मार्च १०) मा ४० वर्षे इतिहास भएको सिलिकन भ्याली बैंक बन्द भएकाे थियाे ।

सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै सिग्नेचर बैंक बन्द गरिएको अमेरिकी नियामकहरूले जनाएका छन् । सन् २००१ मा स्थापना भएको सिग्नेचर बैंकका न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिना भरमा ३८ वटा निजी ग्राहक कार्यालयहरू छन् ।

धितोपत्र फाइलिङ अनुसार सन् २०२२ डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११०.३६ बिलियन अमेरिकी डलर ( करिब १४३.५० खर्ब रुपैयाँ) र कुल डिपोजिट ८८.६ बिलियन डलर (११५ खर्ब रुपैयाँ) छ ।

सिग्नेचर बैंक बन्द हुनु इतिहासकै तेस्रो ठूलो बैंकिङ असफलता हो । यसअघि गत शुक्रबार २०९ बिलियनको सम्पत्ति भएको सिलिकन भ्याली बैंक बन्द भएको थियो । त्यस्तै, सन् २००८ मा ३०७ बिलियन सम्पत्ति भएको वासिंटन म्युचुअल बैंक बन्द भएको थियो ।

बन्द भएकाे सिग्नेचर बैंकको भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग लामो समयदेखिको सम्बन्ध थियो । जसले ट्रम्प र उनको व्यवसायलाई खाताहरू जाँच गर्न र परिवारका धेरै उद्यमहरूलाई वित्तपोषण प्रदान गर्दै थियो। सिग्नेचर बैंकले २०२१ मा क्यापिटल हिलमा जनवरी ६ मा भएको घातक दंगापछि मात्रै ट्रम्पसँगको सम्बन्ध तोड्दै उनलाई राजीनामा दिन आग्रह गरेको थियो ।

‘सिग्नेचर बैंकका निक्षेपकर्ताको रकम सुरक्षित रहन्छ’

यूएस ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सिग्नेचर बैंकका सबै निक्षेपकर्ताहरूको रकम सुरक्षित रहने भन्दै बैंक भएको घोषणा गरेका हुन् ।

बैंकिङ नियामकहरूले सिग्नेचर बैंकका डिपोजिटकर्ताहरूलाई आफ्नो डिपोजिटहरूमा पूर्ण पहुँच हुने बताएको छ। अमेरिकी अधिकारीहरूका अनुसार सिलिकन भ्याली बैंकका ग्राहकहरूले सोमबारदेखिनै उनीहरूको निक्षेपहरूमा पहुँच पाउनेछन्।

अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन ( एफडीआइसी)ले आइतबार ‘ब्रिज’ बैंकलाई उत्तराधिकारी बैंकको रुपमा घोषणा गरेको छ । अब सिग्नेचर बैंकका निक्षेपकर्ता र ऋण लिनेहरू स्वतः ब्रिज बैंकका ग्राहक बन्नेछन् । ब्रिज बैंकबाटै कारोबार गर्न सक्नेछन् ।

नियामकले पूर्व फिफ्थ थर्ड ब्याङ्कपका प्रमुख कार्यकारी ग्रेग कार्माइकललाई ब्रिज बैंकको सीईओको रूपमा नियुक्त गरेको छ।

अमेरिकामा जुनसुकै बैंक डुबे पनि बचतकर्ताले साढे २ लाख डलरसम्म फिर्ता पाउँछन् । एफडीआइसीले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बीमा गरेको हुन्छ । सो अनुसार निक्षेपकर्ताले साढे २ लाख डलरसम्म बचत फिर्ता पाउनेछन् । सोभन्दा बढी निक्षेप भएका बचतकर्ताको रकम भने डुब्नेछ ।

यसैबीच, न्यूयोर्कका गभर्नर क्याथी होचुलले आइतबारको अमेरिकी सरकारको कदमले बैंकिङ प्रणालीको स्थिरतामा विश्वास बढेकोबताएकी छन्।‘यी बैंकहरूमा धेरै निक्षेपकर्ताहरू साना व्यवसायी हुन्, उनीहरूले अर्थतन्त्रलाई चलाइरहेका छन् र तिनीहरूको सफलता न्यूयोर्कको बलियो अर्थतन्त्रको लागि महत्वपूर्ण छ,’ उनले भनिन्।

सिग्नेचर डुब्नुमा पनि सिलिकनकै जस्तै नियति

सिग्नेचर बैंक डुब्नुको मुख्य कारण पनि सिलिकन भ्याली बैंक डुबे जस्तै कारणहरू रहेको बताइएको छ । पछिल्लो समय विश्व क्रिप्टो मार्केटमा आएको गिरावट, ब्याजदर वृद्धि, तरलता अभाव लगायत कारण नै सिग्नेचर बैंक पनि डुब्नुको मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।

बैंकबाट ऋण लिएर क्रिप्टो करेन्सीमा लगानी गरेकाहरूले समयमै ऋण तिर्न नसक्दा बैंक संकटमा पर्दै गएको थियो । विश्वका विभिन्न देशले क्रिप्टोमा गरेको कडाइका कारण यसको मूल्यमा भारी गिरावट आएको छ । जसकारण बैंकबाट ऋण लिएर लगानी गरेकाहरूले समयमै बैंकको ऋण तिर्न सकनेन् । र, बैंक संकटमा पर्दै गयो ।

सेम्टेम्बरसम्म बैंकको निक्षेपको एक चौथाई हिस्सा नै क्रिप्टोकरेन्सी क्षेत्रबाट आएको थियो । यद्यपि, बैंकले डिसेम्बरमा आफ्नो कुल निक्षेपमा ८ अर्ब डलर मात्र क्रिप्टो क्षेत्रबाट आएको बताएको थियो ।

त्यस्तै, बैंक डुब्नुको अर्को कारण उच्च ब्याजदर वृद्धि पनि हो । अमेरिकी नियामक फेडरल रिजर्भ बैंकले यस वर्ष ४० वर्ष यताकै उच्च ब्याजदर वृद्धि गरेको छ । ब्याजदर वृद्धिले पनि बैंकलाई संकटतर्फ धकेलेको बताइन्छ ।

जब ब्याज दर शून्य प्रतिशत नजिक थियो, त्यो बेला कम जोखिमयुक्त भन्दै धमाधम ट्रेजरी बिल र बन्डमा लगानी गरेका थिए । तर, महँगी नियन्त्रणका लागि भन्दै फेडले लगातार ब्याजदर बढायो । ब्याजदर बढेपछि ट्रेजरी बिलहरूको मूल्य भारी गिरावट आयो । ट्रेजरी बिलहरूको भाउ ह्वात्तै घटेपछि बैंकले अस्वाभाविक घाटा बेहोर्न पुग्यो ।(एजेन्सीको सहयोगमा)

देशभर १ हजार ७०० किमी अप्टिकल फाइबर जडान, दुई प्रदेशमा काम सुरू हुनै सकेन Read Previous

देशभर १ हजार ७०० किमी अप्टिकल फाइबर जडान, दुई प्रदेशमा काम सुरू हुनै सकेन

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न व्यवसायीकाे माग Read Next

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न व्यवसायीकाे माग