तीन वर्षमा ५ गुणाले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या तिब्र रुपमा बढ्न थालेको छ । अझै विगत ३ वर्षको नेपाल राष्ट्र बैंकको तथ्याङक हेर्ने हो भने नेपालमा उक्त समययता मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको देखिन्छ ।

 

‘नेपालमा वित्तीय पहुँचको स्थिति’ नामक अध्ययनको अनुसार नेपालमा २०७६ असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार १ सय ८७ पुगेको छ, जुन ३ वर्षअघि १७ लाख ५४ हजार ५ सय ६६ मात्रै रहेको थियो ।

 

२०७६ असारसम्ममा नेपालमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि ९ लाख १७ लाख ३४४ पुगेको छ । पछिल्लो ३ वर्षको अवधिमा मुलुकमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा ८२ दशमलव २७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाएको हो ।

 

नेपाल राष्ट्र बैंकले बैंकमा खाता खोल्ने ग्राहकलाई अनिवार्य मोबाइल बैंकिङ सेवा दिनुपर्ने व्यवस्था लागु गरेकोले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेको बैंकरहरुको ठम्याई छ । त्यस्तै, स्मार्टफोनको बढ्दो प्रयोग, सूचना प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको प्रयोग नेपालमा बढ्दै गएको बैंकरहरु बताउँछन् ।

 

‘अहिले बैंकमा खाता खोलेपछि ग्राहकलाई अनिवार्य रुपमा मोबाइल बैंकिङ सेवा दिनुपर्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन् । अध्ययनका अनुसार, २०७६ असारसम्ममा नेपालमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि ९ लाख १७ लाख ३४४ पुगेको छ । पछिल्लो ३ वर्षको अवधिमा मुलुकमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा ८२ दशमलव २७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाएको हो ।

 

सानिमा बैंकका सीईओ दाहालका अनुसार, इन्टरनेट बैंकिङको तुलनामा मोबाइल बैंकिङका प्रयोगकर्ता ह्वात्तै बढनुमा यसमा भएको विभिन्न सुविधा प्रमुख कारण हो । मोबाइल बैंकिङ अन्तर्गत खातामा पैसा जम्मा भएको र झिकिएको जानकारी थाहा पाउन सकिनुका साथै, अर्काे खातामा पैसा पठाउन, मोबाइलमा रिचार्ज गर्न, बिजुली, इन्टरनेटको बिल तिर्ने लगायतका सुविधा उपलब्ध हुन्छन् ।

 

राष्ट्र बैंकको अध्ययनले बचत खाताको आधारमा गत जेठसम्ममा ६० दशमलव ९ प्रतिशत नेपालीमा वित्तीय पहुँच पुगेको देखाएको छ । सो अवधिसम्म वाणिज्य तथा विकास बैंक र वित्तीय कम्पनीहरुमा कुल २ करोड ७८ लाख ६७ हजार निक्षेप खाता छ । त्यसमा ‘डुब्लिकेशन’ हटाउँदा खुद १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता भएको प्रतिवेदनमा उल्लेख छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको सेवालाई पनि समावेश गर्दा यस्तो पहुँच अझै बढ्ने राष्ट्र बैंकको दाबी छ ।

 

गत वैशाखदेखि ‘एक घर एक बैंक’ खाता, साथै गतवर्षदेखि नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्नुपर्ने अभियान सञ्चालन गरिएको छ । यस्ता अभियानको प्रभावले वित्तीय पहुँच विस्तारमा सकारात्मक प्रभाव परेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकिङ पहुँच विस्तार उत्साहजनक देखिएको टिप्पणी गरेका छन् । साथै, यस प्रतिवेदनले समग्र बैंकिङ क्षेत्रमा सकरात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

 

नेपाल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बा, वित्तीय पहुँचमा यो स्तरको वृद्धि सकारात्मक भएको बताउँछन् । तर, खाता र प्रविधि प्रयोगकर्ताको संख्या कति पुग्यो भन्दा पनि प्रयोग कति भयो भन्नु बढी महत्वपूर्ण रहेको उनको भनाइ छ ।
‘प्रतिवेदनले वित्तीय पहुँचको विस्तार राम्रो भएको देखाएको छ,’ उनले भने, ‘प्रविधिहरु कत्तिको प्रयोग भएको छ, महिला र पुरुषमा कसले बढी कारोबार गर्छन्, यस्तो विषयसँग सम्बद्ध तथ्यांक पनि प्रस्तुत गरेको भए अझ बढी राम्रो हुन्थ्यो ।’

 

स्थानीय तहमा बैंकहरुको उत्साहजनक उपस्थिति

 

स्थानीय तहमा वाणिज्य बैंकहरुको उत्साहजनक सहभागिता देखिएको छ । भौगोलिक विकटता, यातायात, विद्युतजस्ता पूर्वाधारको अभाव भएको नेपालजस्तो मुलुकमा सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गर्न चुनौती थियो । तर, आर्थिक वर्ष २०७६/७७ को भदौं महिनासम्मा ७५३ स्थानीय तहमध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएको देखिएका छन् ।

 

यसअनुसार, अब १४ ओटा स्थानीय तहमा मात्र बैंकको शाखा स्थापना हुन बाँकी छ । २०७५ असारसम्ममा ६३१ र २०७४ असारसम्ममा २९६ स्थानीय तहमा बैंकका शाखाहरु विस्तार भएका थिए ।

 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै बैंकको एक शाखाबाट सेवा प्राप्त गर्न सक्ने औसत जनसंख्याको आकार क्रमशः घट्दै गएको छ । २०७१ असारसम्म एउटा शाखाले ७ हजार ६ सय ६६ जनालाई बैंकिङ सेवा दिनुपर्ने बाध्यता थियो । तर, गत असारसम्ममा आउँदा एउटा शाखाले औसतमा ३ हजार ६सय ६३ जनालाई बैंकिङ सेवा प्रदान गर्नुपर्ने देखिन्छ ।

 

२०७१ असारसम्म बैंक तथा वित्तीय संस्थाहरुको ३ हजार ४सय ५६ ओटा शाखा थिए, तर गत असारसम्ममा उक्त शाखाहरुको संख्या ८ हजार ८ सय ५ पुगेका छन् ।

 

बैंकिङ क्षेत्रमा वित्तिय प्रविधि प्रयोगको अवस्था

 

विवरण २०७३ २०७४ २०७५ २०७६
डेविट कार्ड प्रयोगकर्ता ४६५७१२५ ४९८०९५८ ५५४४२५३ ६७०८५२१
क्रेडिट कार्ड प्रयोगकर्ता ५२०१४ ६८९६६ १०४७२१ १२३१४६
मोबाइल बैंकिङ प्रयोगकर्ता १७५४५६६ २६६९७३२ ५०८६०६९ ८३४७१८७
इन्टरनेट बैंकिङ प्रयोगकर्ता ५१५४६५ ७८३७५१ ८३४३०२ ९१७३४४
शाखारहित बैंकिङ केन्द्र ८१२ १००८ १२८५ १५३०

(२०७६ असार मसान्तसम्म)

फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता Read Previous

फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता

उच्च आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा सघाउन विश्व बैंक प्रतिबद्ध Read Next

उच्च आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा सघाउन विश्व बैंक प्रतिबद्ध