काठमाडौं । उच्च ब्याजदरले कर्जाको माग नभएपछि बैंकहरू ब्याजदर घटाउने निष्कर्षमा पुगेका छन् । बिहीबार नेपाल बैंक बैंकर्स संघले चैतदेखि साधरण बचत र ऋणको प्रिमियम घटाउने निर्णय गरेको हो । यद्यपि, मुद्दती निक्षेपको ब्याजदर भने यथावत राखेका छन् ।
संघले साधरण बचतको ब्याजदर ०.४२ प्रतिशत र कर्जामा लिइने प्रिमियमदर १ प्रतिशत घटाएको हो । योसँगै अब बचतको ब्याज ६ देखि ८ प्रतिशत कायम हुने भएको छ । त्यस्तै, कर्जा लगानी गर्दा अब बेसरेटमा ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने भएका छन् । हाल बैंकहरुले कर्जाको ब्याजदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण लगानी गरिरहेका छन् ।
गत आर्थिक वर्षदेखि उकालो लागेको कर्जाको ब्याजदर हालसम्म घटेको छैन । वित्तीय प्रणालीमा तरलता अभावका कारण बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदा बैंकको लागत वृद्धि भएको थियो ।
जसको कारण बैंकको आधारदर वृद्धि भएर कर्जाको ब्याजदर उच्च हुँदा ऋणी समस्यामा परेका थिए । प्रिमियम र बचतको ब्याजदर घटाउने बैंकहरुको सो कदमले ऋणीलाई राहत पुग्ने र यसले कर्जाको माग बढाउने व्यवसायीहरुले बताएका छन् ।
बैंकको ब्याजदर घटाउने निर्णय सकारात्मक रहेको नेपाल उद्योग वाणिज्य महासंघका एक उपाध्यक्ष बताउँछन् । ‘बैंकले बढाएको ब्याजदर विरुद्ध व्यवसायीहरु धेरै पहिलेदेखि आन्दोलन गदै आएका हुन । तर, संस्थाहरुले लगातार बढाइ रहेका थिए्,’ उनले भने, ‘१८ प्रतिशत ब्याजदरमा बैंकबाट ऋण लिएर कसले किन लगानी गर्छन् ? आगामी चैतदेखि एक प्रतिशतले ब्याजदर घटाउने निर्णय गरे भन्ने छ । यो सकारात्मक हो । संकटमा परेका व्यवसायीलाई राहत हुन्छ ।’
बैंकले गत माघमा निक्षेपको ब्याजदर घटाएका थिए । तर, कर्जाको ब्याजदर भने झन बढेको थियो । गत वर्षदेखि उकालो लागेको ब्याजदरले बैंकको आधारदर बढ्दा तत्काल निक्षेपको ब्याजदर घटाए पनि कर्जाको ब्याजदरमा त्यसको असर तीन महिनापछि मात्र देखिन्छ ।
हालकै व्यवस्था अनुसार कर्जाको ब्याजदर वैशाखपछि मात्र घट्थ्यो । तर, बैंकहरुले प्रिमियम घटाउने भएपछि ऋणीले चैतमै ब्याज कम तिर्नुपर्ने छ । गत वर्षदेखि वित्तीय प्रणालीमा तरलता अभाव बढ्दै गएपछि निक्षेप तान्ने होडमा बैंकहरुले ब्याजदर बढाउने प्रतिस्पर्धा चलाएका थिए । जसको कारण हाल बैंकको आधारदर नै औषतमा १० प्रतिशत माथि पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले निक्षेपको औषत ब्याजदर ११ प्रतिशत भन्दा बढी छ । गत महिना १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अब घट्ने बैंकरहरु बताउँछन् ।
कर्जाको माग वृद्धि होला ?
महंगो ब्याजका कारण कर्जाको माग नहुँदा बैंकहरुले कर्जा लगानी गर्न सकेका छैनन् । वित्तीय संस्थाहरुमा कर्जाको माग नहुँदा आर्थिक गतिविधि नै सुस्ताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्म बैंकहरुले लक्ष्यको २५ प्रतिशत पनि लगानी गर्न सकेका छैनन् । प्रणालीमा स्रोत अभाव र माग संकुचनले लगानी गर्न नसक्दा वित्तीय संस्थाको व्यवसाय र आर्थिक वृद्धि समेत यस वर्ष प्रभावित हुने देखिएको छ ।
चालु वर्षको फागुनसम्म संस्थाहरुले १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांक छ । जबकि गत वर्षको ६ महिनामै लक्ष्यको ६० प्रतिशत विस्तार गरिसकेका थिए । राष्ट्र बैंकले यस वर्ष निजी क्षेत्र तर्फ १२.६ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ । तर, कर्जा लगानीको सो लक्ष्य भेट्टाउन नसक्ने बैंकरहरुले बताउँदै आएका छन् ।
महंगो ब्याजदर केही घटेपछि कर्जाको मागमा वृद्धि हुने र यसले आर्थिक गतिविधि चलायमान बनाउने वित्तीय विश्लेषण वित्तीय क्षेत्रका जानकारहरुको छ । गत वर्ष अनियन्त्रित कर्जा प्रवाह र माग वृद्धि भएपछि राष्ट्र बैंकले ब्याजदर बढाउने नीति लिएको थियो ।
बाह्य स्थायित्व कायम र मूल्यवृद्धि नियन्त्रण गर्न लिएको नीतिको असर भने हालसम्म देखिएको छ । चालु वर्षको दोस्रो त्रैमासदेखि निक्षेप सहज हुँदै गएको छ भने अन्तर बैंकदर पनि घट्दो क्रममा छ ।
ब्याजदर करिडोर, तरलता बढ्दै र बैंकको लागत घट्दै गएका कारण अब कर्जाको माग वृद्धि हुँदा बैंकको व्यवसायमा सुधार आउने बैंकरहरुको विश्लेषण छ ।