बचतको ब्याजदर र ऋणको प्रिमियम घट्यो, कर्जाको ब्याज सस्तिने

काठमाडौं । वाणिज्य बैंकहरूले साधरण बचत र कर्जाको प्रिमियम घटाउने भएका छन् । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले साधरण बचतको ब्याजदर र कर्जामा लिइने प्रिमियमदर घटाउने निर्णय गरेको हो ।

संघले कर्जाको प्रिमियम १ प्रतिशत घटाउने निर्णय गरेको हो । संघका अनुसार अब बैंकहरूले कर्जा प्रवाह गर्दा आधारदरमा ५ प्रतिशत प्रिमियम लिने भएका छ ।

हाल अधिकांश बैंकहरूले बेसरेटमा ६ प्रतिशत प्रिमियम लिँदै आएका छन् भने केही बैंकले ८ प्रतिशतसम्म लिँदै आएका छन् । घटेको प्रिमियम चैत १ गतेदेखि लागू हुने संघले जनाएको छ ।

यस्तै, संघको आजको बैठकले बचतको ब्याज पनि ०.४२ प्रतिशतसम्म  घटाउने निर्णय गरेको छ । हाल वाणिज्य बैंकहरूले साधरण बचतमा ६.४२ देखि ८.४ प्रतिशत ब्याज दिँदै आएका छन् । अब चैत १ गतेदेखि भने बचतमा ६ देखि ८ प्रतिशत ब्याज दिने भएका हुन् । संघका अनुसार हाल बैंकहरूको कुल निक्षेपको करिब २८ प्रतिशत हिस्सा साधरण बचतको रहेको छ ।

बचतको ब्याज घट्ने बित्तिकै बैंकहरूको लागत घट्ने भएकाले बेसरेट समेत घट्ने भएको छ । पछिल्लो समय बैंकको ब्याजदर महँगो भएको भन्दै चौतर्फी विरोध र आन्दोलन समेत भइरहेको छ ।

प्रिमियम र बचतको ब्याज घटाएक बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर भने यथावत राखेका छन् । चैतमा पनि फागुनकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । हाल व्यक्तिगत मुद्दतीतर्फ ११ प्रतिशत र संस्थागत मुद्दतीको ब्इाजदर ९ प्रतिशत रहेको छ ।

फागुनमा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका थिए । माघमा १२.१३३ प्रतिशत रहेको मुद्दतीको ब्याजदर घटाएर फागुनमा ११ प्रतिशत कायम गरेका थिए ।

बचतको ब्याज र ऋणको प्रिमियम घटेसँगै ऋणीले समेत केही राहत पाउने भएका छन् । बैंकको लागत घट्ने भएसँगै अब बेसरेट पनि घट्ने र बेसरेट घटेपछि कर्जाको ब्याजसमेत केही सस्तिने भएको छ ।

हाल बैंकहरूको औसत बेसरेट नै साढे १० प्रतिशत रहेको छ भने त्यसमा प्रिमियम थप्दा कर्जाको ब्याजदर १६ देखि १८ प्रतिशतसम्म पुगेको छ ।

 

इटलीबाट ल्याइएको ५४ हजार किलो चामल १ महिनादेखि नेपालगञ्ज भन्सारमै अड्कियो Read Previous

इटलीबाट ल्याइएको ५४ हजार किलो चामल १ महिनादेखि नेपालगञ्ज भन्सारमै अड्कियो

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी Read Next

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी