आजदेखि पोखरा विमानस्थलमा रात्रिकालीन उडान, खस्कँदो पर्यटन क्षेत्र ‘गुल्जार’ बन्ला ?

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) देखि नियमितरूपमा रात्रिकालीन उडान सुरू हुने भएको छ ।

विमानस्थलमा उपकरणका आधारमा विमान उडान रअवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरू गर्न लागेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने बताइन्छ ।

बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । उनका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् ।

उनले भने, ‘पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि भोलिदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरू गर्दैछ । बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन् ।’

यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो ।

बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताए । बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन् । कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ ।

उनले भने, ‘हाल चारवटा जहाज पोखरामै रात्रि बिसान हुन्छ । भोलिपल्ट बिहान पोखराबाट सम्बन्धित गन्तव्यमा उडान सुरू हुन्छ । यसले पोखराको पर्यटनलाई ठूलो सहयोग पुग्ने विश्वास छ ।’

पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो ।

रात्रिकालीन उडानले पर्यटन क्षेत्र गुल्जार बन्ला ?

पोखरामा रात्रिकालीन उडान सुरू भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गर्दै आएका थिए ।

अहिले पोखरा जाने मुख्य मुग्लिन–पोखरा सडक विस्तारको क्रममा रहेको छ । सडकमार्ग हुँदै पोखरा जान निकै सास्ती र असहजता व्यहोर्नुपर्ने बाध्यता छ । सडकको दुरावस्थाका कारण पनि पछिल्लो समय पोखरामा पर्यटकको संख्या घट्दो क्रममा रहेको पर्यटन व्यवसायी बताउँछन् । अब रात्रिकालिन उडान हुने भएपछि पर्यटकको संख्या बढ्ने व्यवसायीको अपेक्षा छ ।

विमानस्थलबाट दिउँसो ४ बजेसम्म मात्र उडान हुने गरेकामा अब रात्रिकालीन उडानले सहज बनाउने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताउँछन् ।

‘रात्रिकालीन उडान यहाँको पर्यटनका लागि पनि महत्वपूर्ण बन्ने छ,’ उनले भने, ‘काठमाडौँमा विभिन्न कार्यालयीय एवम् अन्य काममा जाने पनि दिउँसो काम सकेर रातमा पोखरा फर्कने पाउनेछन् ।’ अन्तर्राष्ट्रिय उडानबाट आएका व्यक्ति पनि रात्रिकालीन उडान भएसँगै काठमाडौं विमानस्थलबाट सिधैँ पोखरा आउन सक्ने उनको भनाइ छ ।

त्यस्तै, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी रात्रिकालीन उडानले पोखरालाई आन्तरिक रूपमा पनि अन्य प्रदेशसँग जोड्न सहज हुने बताउँछन् ।

‘रात्रिकालीन उडानका लागि विभिन्न उडान कम्पनीले पनि आफ्ना कार्यतालिका राख्न थालेका छन्,’ उनले भने, ‘यसले पोखराको पर्यटनमा विशिष्ट योगदान पुग्ने अपेक्षा गरेका छौंँ ।’

अन्तर्राट्रिय उडानको अझै टुंगो छैन

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । सोही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरू हुनसकेको छैन ।

विमानस्थल सञ्चालनमा आएको दुई महिना पुगिसक्दा समेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी तथा उद्योगी निरास छन् । सरकारले भने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरूसँग कूटनीतिक पहल भइरहेको जनाएको छ ।

 

चकलेट भनेर अमेरिकाबाट पार्सलमा ७ किलो गाँजा आएपछि... Read Previous

चकलेट भनेर अमेरिकाबाट पार्सलमा ७ किलो गाँजा आएपछि...

श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण Read Next

श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण