काठमाडौं । विश्वको स्मार्टफोनको बजारमा अमेरिकी कम्पनी एप्पलको वर्चश्व रहेको छ । सन् २०२२ मा सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनहरूको उत्कृष्ट १० सूचीमा एप्पलका मात्रै ८ वटा मोडल रहेका हुन् ।
प्रविधिसम्बन्धी रिसर्च कम्पनी काउन्टर पोइन्टले सार्वजनिक गरेको प्रतिवेदनअनुसार धेरै बिक्री भएका १० फोनमा चौथो र दशौंबाहेक अरु सबै स्थान एप्पलले ओगटेको हो । धेरै बिक्री भएका चौथो र दशौं नम्बरमा भने सामसङका फोन रहेका छन् ।
सन् २०२२ मा एप्पलको आइफोन-१३ सबैभन्दा धेरै विक्री भएको छ । स्मार्टफोन बजारको ५ प्रतिशत र कुल आईफोन बिक्रीको २८ प्रतिशतसहित बढी हिस्सा आइफोन १३ को छ ।
यस्तै, धेरै विक्री हुने फोनहरूमा क्रमशः एप्पलकै आइफोन–१३ म्याक्स प्रोे दोस्रो, आइफोन–१४ म्याक्स प्रो तेस्रो र सामसङको ग्यालेक्सी ए १३ चौथो स्थानमा रहन सफल भएको छ ।
त्यसैगरी, एप्पलका फोनहरू आइफोन १३ प्रो, आइफोन १२, आइफोन १४, आइफोन १४ प्रो, आइफोन एसई २०२२ र सामसङ ग्यालेक्सी एओथ्री मोडल धेरै बिक्री हुने फोनको क्रमशः पाँचौदेखि दशौं स्थानमा रहेका छन् ।
अध्ययन अनुसार एप्पलको आइफोन १३ अमेरिकासँगै चीन, बेलायत, जर्मनी, फ्रान्सलगायत देशहरूमा समेत सबैभन्दा बढी व्यापार हुने फोन बनेको छ । त्यस्तै, सामसङका फोनहरूले क्यारेबियन, ल्याटिन अमेरिका र भारतमा राम्रो व्यापार गरेको प्रतिवेदनले औंल्याएको छ ।