बाँकेमा खाद्यले किन्यो लक्ष्यको आधाभन्दा कम धान

खजुरा । बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा हालसम्म ९ हजार क्विन्टल मात्र खरिद गरेको छ ।

धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । उनका अनुसार यस वर्ष जिल्लाका ८४० किसानको मध्यम धान २० हजार क्विन्टल र मोटो धान ५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य थियो ।

३४० किसानको मध्यम धान ७ हजार क्विन्टल र मोटा धान २ हजार क्विन्टल धान खरिद गरिएको लामिछानेले जानकारी दिए । जिल्लाका आठवटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेदेखि २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरिएको थियो । निर्धारित समयभन्दा ढिला धान खरिद सुरु गरेकाले अधिकांश किसानले पहिला नै व्यापारीलाई बिक्री गरेको डुडुवा–४ का रामगोपाल बर्माले बताए ।

‘कम्पनीले भन्दा पहिला व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेपछि किसानले आफ्नै सुरले बिक्री गरेका हुन्,’ उनले भने । सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु २ हजार ९६७ र मध्यम धानको रु ३ हजार १२८ तोकेको थियो ।

जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान बिक्री गरेको र अन्य पालिकाका केही किसानले धान बिक्री गरेको कार्यालयले जनाएको छ ।

कालीगण्डकी प्रसारण लाइन निर्माणमा ३ वर्षदेखिको अवरोध हटाइँदै Read Previous

कालीगण्डकी प्रसारण लाइन निर्माणमा ३ वर्षदेखिको अवरोध हटाइँदै

यात्रुले उडिरहेको विमानको ढोकाको चुकुल खुस्काइदिएपछि... Read Next

यात्रुले उडिरहेको विमानको ढोकाको चुकुल खुस्काइदिएपछि...