काेभिडले सिथिल ठमेलकाे पर्यटक व्यवसायमा कम ब्याक, व्यवसायी उत्साहित

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो ।

अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउछन् । `लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ´, उनी भन्छन् । विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउछन् । `ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ´, उनले भने। ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।

ठमेलको चारतारे होटल रमदा इन्कोरका सञ्चालक गोपाल पङ्गेनी पर्यटन मौसम सुरु भएसँगै आफ्नो होटलमा बुकिङ गर्ने पर्यटकको सङ्ख्या बढेको बताए। अङ्ग्रेजी पात्रोअनुसार मार्च, अप्रिल र मे महिनालाई नेपालमा पर्यटकीय मौसमका रूपमा लिने गरिन्छ । काठमाडौँ महानगरपालिका–१६ ठमेलमा ९२ कोठासहित सञ्चालनमा रहेको रमदा होटलमा मार्चमा ७० प्रतिशत, अप्रिल र मेमा ९० प्रतिशत कोठा बुकिङ भएका छन् ।

सोही होटलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउछन्। `एक महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्´, उनी भन्छन् । अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ ।

ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने पाहुना खचाखच हुन थालेका छन् । शुक्रबार र शनिबार भने ठमेलमा थप चहलपहल हुँदै आएको छ । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन् ।

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दै आएका द सर्ट स्टेशन रेष्टुराँ एन्ड बारका सञ्चालक धर्मराज पनेरुले रातिको समयमा ठमेलमा मनोरञ्जन गर्न आउने विदेशी पाहुनाको सङ्ख्या बढेको बताए । `पछिल्लो १५ दिनदेखि रात्रिकालीन व्यवसाय क्रमशः राम्रो हुँदै गएको छ, यसले हामी व्यवसायीमा खुसी छाएको छ,´ उनले भने । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को फ्रेबुअरीमा हवाईमार्ग भएर ७३ हजार २५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीमा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ को फ्रेबुअरीमा १९ हजार ७६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा ९ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहवद्र्धक रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् । फ्रेबुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आए । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै थाइल्यान्डबाट चार हजार ८०२, दक्षिण कोरियाबाट तीन हजार २४६, अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलङ्काबाट २ हजार ११७ र जर्मनीबाट २ हजार १०८ पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो तथ्याङ्कले महामारीपछि फ्रेबुअरीमा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा दुई लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

लोकप्रिय बन्न सस्ता, मिठा कुरा नगर्न व्यवसायीलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह Read Previous

लोकप्रिय बन्न सस्ता, मिठा कुरा नगर्न व्यवसायीलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

बैंक तथा वित्तीय संस्थाविरुद्धका गैरकानूनी क्रियाकलाप रोक्न गृहको निर्देशन Read Next

बैंक तथा वित्तीय संस्थाविरुद्धका गैरकानूनी क्रियाकलाप रोक्न गृहको निर्देशन