काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।
पछिल्ला ४ दिनमा नेप्से झन्डै ६० अंकले घटेको छ । बिहीबार नेप्से २६.४७ अंकले घटेर १९६९.०२ विन्दुमा आइपुगेको छ । यसदिन २५६ कम्पनीको १ अर्ब ३३ करोड रुपैयाँ बढीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.३२ प्रतिशतले घटेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ६ करोड र एनआइसी एशिया बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सर्वाधिक ७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, स्वाभिमान लघुवित्त, नाडेप लघुवित्त साढे ५ प्रतिशत, सूर्योदय वोमी, बाराही हाइड्रोपावर, उपकार लघुवित्त, जीवन विकास लघुवित्तको सेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।