मुग्लिन पोखरा सडकको विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घण्टा बन्द हुने

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।

मुग्लिन पोखरा सडकखण्डको विस्तार कार्यअन्तर्गत उक्त खण्डमा सुरक्षितरुपमा काम गर्नका लागि आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उक्त खण्डमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डले जनाएको छ । अत्यावश्यक सवारी साधन भने उक्त समयमा पनि सञ्चालन हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

‘राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले हाललाई दश दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको हो,’ उनले भने । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ ।

दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ । सम्पन्न गर्नुपर्ने म्याद १४ महिना बाँकी रहँदा कामको प्रगति सुस्त हुँदा समयमै काम सम्पन्न नहुने आशङ्का उब्जिएको छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति १५.५ प्रतिशत छ । सुवेदीका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत पोल स्थानान्तरण नहुँदा काम सुस्त छ ।

त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति ४.१ प्रतिशत मात्रै छ । यो खण्डमा पनि कामको गति सुस्त देखिएको छ । यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ । पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको काम गर्ने म्याद २०८१ वैशाखसम्म छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको काम गर्ने म्याद २०८१ भदौसम्म रहेको छ । विसं २०२६ मा रेखाङ्कन भएकोउक्त सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

लिबर्टी इनर्जीले पायो हकप्रद सेयर जारी गर्न अनुमति Read Previous

लिबर्टी इनर्जीले पायो हकप्रद सेयर जारी गर्न अनुमति

बेनीमा १५ करोड लगानीमा संचालनमा आयो होटल 'हटस्पिरिङ' Read Next

बेनीमा १५ करोड लगानीमा संचालनमा आयो होटल 'हटस्पिरिङ'