पर्यटक आवगमनमा सुधार, एक महिनामै आए ७३ हजार विदेशी

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार २५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा ९ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । फेब्रुअरीमा भारतबाट १८ हजार ४०१ पर्यटक आएका छन् । अमेरिकाबाट ७ हजार ८८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

त्यस्तै, थाइल्याण्डबाट ४ हजार ८०२, दक्षिण कोरियाबाट ३ हजार २४६, अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलङ्काबाट २ हजार ११७ र जर्मनीबाट २ हजार १०८ पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार १४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने १ लाख ५० हजार ९६२ पर्यटक नेपाल आएका थिए ।

होलीको अवसरमा सिप्रदीको मेघा होली क्याम्प, विभिन्न सेवामा ५०% सम्म छुट Read Previous

होलीको अवसरमा सिप्रदीको मेघा होली क्याम्प, विभिन्न सेवामा ५०% सम्म छुट

पृथ्वी शाहले २४ बढी कम्पनी खडा गरी करोडौं ठगेको सीआइबीको ठहर Read Next

पृथ्वी शाहले २४ बढी कम्पनी खडा गरी करोडौं ठगेको सीआइबीको ठहर