काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्से आज २४ अंकले घटेको हो ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यससाता औसतमा दैनिक डेढ अर्ब बढी कारोबार हुँदै आएकोमा आज घटेर सवा १ अर्बमा सीमित भएको छ ।
बुधबार नेप्से २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा आइपुगेको छ । यसदिन २५७ कम्पनीको १ अर्ब २८ करोड रुपैयाँ बढीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.६५ प्रतिशतले घटेको छ ।
आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ८ करोड र हिमालयन डिस्ट्रीलरी ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंक्ले घटेको बजारमा आज बोटलर्स नेपाल तराईको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले झन्डै १० प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, सीवाइसी नेपाल, उन्नति सहकार्य, उपकार र एनआइसी एशिया लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।