काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको उत्तर–दक्षिण करिडोरमा अझै दुई दर्जन पुल निर्माण सुरु हुनै बाँकी रहेको छ ।
भारत-नेपाल-चीन जोड्ने रणनीतिक महत्वका रुपमा रहेका उत्तर-दक्षिण अन्तर्गतका तीन करिडोर अबको २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि अझै २४ वटा पुल निर्माणका लागि ठेक्का लगाउनै बाँकी रहेको हो ।
हाल उत्तर–दक्षिण करिडोर अन्तर्गत कोशी, कालीगण्डकी र कर्णाली गरी ३ वटा राजमार्ग निर्माण भइरहेका छन् । जसमा कोशी करिडोरमा ४ वटा, कालीगण्डकी करिडोरमा १५ वटा र कर्णाली करिडोरमा ५ वटा पुल ठेक्कामा जान बाँकी रहेको हो ।
कोशी करिडोरमा दुई पुल सम्पन्न भइसकेको र दुई निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । बरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन रहेको छ । त्योभन्दा माथि चार पुलको डिजाइन भइसकेको उत्तर–दक्षिण करिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘अझै पनि चार पुल ठेक्कामा जान बाँकी रहेको छ ।’
कालीगण्डकी करिडोरमा हालसम्म पाँच पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । जम्मा १२ पुल निर्माणाधीन भए पनि तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्रमुख खड्काले जानकारी दिए । निर्माणाधीन पुल ६०/७० मिटर लम्बाइसम्मका रहेको उनले बताए ।
चालु आवमा दुई पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको उनले जानकारी दिए । चौध पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच सकियो भने अरूमा काम भइरहेको छ । उनले भने, ‘समग्रमा १५ पुल ठेक्का लगाउन बाँकी रहेको छ ।’
प्रगतिका हिसाबले सबैभन्दा पछि रहेको कर्णाली करिडोरमा जम्मा पुलसँगै विभिन्न कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । सानासाना खोल्सामा कल्भर्ट बनाउनुपर्ने रहेको आयोजना प्रमुख खड्काले बताए । उनले भने, ‘कतै ठेक्का लगाएर निर्माणाधीन छन् भने थप कल्भर्टका लागि ठेक्का आह्वान गरिएको छ ।’
कर्णाली करिडोरमा जम्मा १४ पुल रहेकामा ९ असार मसान्तमा ठेक्का लागेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए । गत आव र त्योभन्दा पहिले निर्माण सुरु भएका पाँचवटा पुल निर्माणाधीन रहेका छन् । उनले भने, ‘अझै चार/पाँचवटा डिजाइनमा जान बाँकी छ र सर्बे डिजाइन भइरहेको छ ।’