काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । गत बिहीबार एकै दिन ५७ अंकले घटेको नेप्से आज ५ अंकले फर्केको हो । आज बजार खुल्ने बित्तिकै ६० अंकले घटको नेप्से अन्त्यमा लयमा फर्किएको हो ।
सस्तो मूल्यमा सेयर उठाउने हाबी हुँदा आज नेप्सेमा ७२ अंकको उतरचढाव आएको छ । नेप्सेमा तीव्र मोलमोलाइ हुँदा कारोबार रकममा पनि सुधार आएको छ । आज साढे २ अर्ब बढीको सेयर किनबेच भएको छ ।
गत बुधबार एकीककृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई कर्जा लगानी र लाभांश वितरणमा कडाइ गरेपछि बिहीबार लघुवित्त कम्पनीको सूचकमै नेगेटिभ सर्किट लागेको थियो । तर, बजारमा दबदबा राख्ने लघुवित्तको सेयर मूल्य सस्तोमा आएपछि उठाउनी हाबी हुँदा आज अधिकांश लघुवित्तको सेयर मूल्य बढेको छ ।
आइतबार नेप्से ४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेको छ । यसदिन २६२ कम्पनीको २ अर्ब ५२ करोड रुपैयाँ बढीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ समूहको घटेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.७८ प्रतिशतले बढेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको झन्डै साढे ८ करोड र छिमेक लघुवित्तको ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
तीव्र उतरचढाव आएको बजारमा आज विजय लघुवित्तका सेयरधनीले सर्वाधिक ७.९४ प्रतिशत कमाएका छन् । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक ७.६०, अभियान लघुवित्त ७.२६, मिर्मिरे, आरम्भ चौतारी लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर र मेरो माइक्रोफाइनान्सको सेयर मूल्य ६ प्रतिशभन्दा धेरैले बढेको छ ।