थप ११८ किलोमिटर सडकमा ‘हाई-मास्ट लाइट’ जडान गर्दै भरतपुर महानगर

सांकेतिक तस्वीर

चितवन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८.१किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र आह्वान गरिएको छ ।

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको सहकार्यमा महानगरमा उक्त काम सुरु गरिएको हो । पहिलो चरणको काम अन्तिममा पुगेलगत्तै दोस्रो चरणको कामको थालिएको छ ।

पहिलो चरणमा महानगरपालिकाको १० प्रतिशत लागत साझेदारी थियो भने दोस्रोचरणमा ६० प्रतिशत महानगरपालिका र आयोजनाको ४० प्रतिशत साझेदारीमा काम गर्न लागिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो चरणको काम यही वैशाखको पहिलो सातासम्ममा सकिने छ ।

दोस्रो चरणको काम निर्माण व्यवसायीसँग सम्झौता भएको एक वर्षमा सम्पन्न हुने छ । दोस्रो चरणमा विभिन्न ठाउँमा आठ वटा हाइमास्ट र ६० वटा मिनिमास्टसहितको बत्ती राखिँदै छ । पहिलो चरणमा सडक क्षेत्रमा एक हजार ९३३ वटा बत्ती जडान गरिएको छ ।

महानगर प्रमुख दाहालका अनुसार पहिलो चरणमा मूल्यअभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार तीन सयमा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभिले काम गरिरहेको छ । दोस्रो चरणमा रु २६ करोड ५० लाखको बोलपत्र आह्वान गरिएको छ ।

उनले भने, ‘पहिलोको भन्दा धेरै क्षेत्रलाई हामी उज्यालो बनाउँदै छौँ ।’ पहिलो चरणमा महानगरका सहरी क्षेत्रमा बत्ती जडान गरिएको छ । दोस्रो चरणअन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकिलो सडकलाई प्राथमिकता दिएर बत्ती जडान गरिँदै छ । महानगरप्रमुख दाहालले महानगरलाई आउँदो पाँच वर्षभित्र दक्षिण एशियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्देश्यअनुरुप उज्यालो सहर बनाउन लागिएको बताइन्।

यस क्रममा स्मार्ट सडक बत्ती, विभिन्न स्थानमा हाई–मास्ट तथा मिनी–मास्ट बत्ती जडान गरिँदै छ । सन् २०२४ लाई भरतपुर महानगरले भ्रमण वर्षको रूपमा मनाउन लागेको भन्दै उनले मुख्य सडकमा यात्रा गर्दा आम सर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाइ सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ’उज्यालो सहर–भरतपुर’ अभियान तीव्र पारिएको बताइन् ।

उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती हो भन्ने कुरालाई मध्यनजर गर्दै यस ‘उज्यालो सहर–भरतपुर’ अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरे । यस कार्यक्रमअन्तर्गत पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत सम्भार समेत गर्ने उनले जानकारी दिए । अन्य ठाउँमा स्मार्ट बत्ती जडान क्रमश गर्दै लगिने उपप्रमुख अधिकारीको भनाइ थियो ।

आयोजना प्रमुख प्रमोद रिजालले महानगरपालिकाले आफ्नो क्षेत्रलाई उज्यालो बनाउन गरेको प्रस्तावअनुसार प्राधिकरणले सहकार्य गरेर काम गरिरहेको बताए।

पहिलो चरणको काम ८५ प्रतिशत सकिएको भन्दै उहाँले बोलपत्रको काम सुरु भएकाले आउँदो वर्षभित्रमा महानगरका धेरै ठाउँमा स्मार्ट बत्ती पुग्ने जानकारी दिए । महानगरमा विकास निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । विकासका हिसाबले धेरै काम भएको पालिकामा भरतपुरलाई चिन्ने गरिन्छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगत तथा सुदृढिकरण गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाअन्तर्गत रहेर महानगरपालिकाको पुलचोक–केन्द्रीय बसटरमिनल–गोन्द्राङ् र केन्द्रीय बसटरमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम सुरु भएको र यसका लागि रु एक अर्ब २० करोडमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो ।

भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस टरमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ्सम्म ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गर्न लागिएको छ । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले महानगरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागेको हो ।

पर्यटकले गर्ने औसत खर्चको तथ्यांक संकलन गर्दै पर्यटन बोर्ड Read Previous

पर्यटकले गर्ने औसत खर्चको तथ्यांक संकलन गर्दै पर्यटन बोर्ड

ललितपुरका १० सहकारी खारेज (सूचीसहित) Read Next

ललितपुरका १० सहकारी खारेज (सूचीसहित)