मदन भण्डारी राजमार्ग ४ पुलको निर्माण सम्पन्न, ३३ वटा अन्तिम चरणमा

झापा । मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको १३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ ।

उनले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताए । निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उनले जानकारी दिए । उनले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ,’ उनले भने, ‘यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ ।’ उनले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिए ।

उनका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ । निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि ४०० मिटरसम्मका रहेको उनले बताए।

रु १० अर्ब १३ करोडका लागतमा १३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ ।

सिभिल बैंकको सेयर कारोबार रोक्का, अब नयाँ नाममा कारोबार हुने Read Previous

सिभिल बैंकको सेयर कारोबार रोक्का, अब नयाँ नाममा कारोबार हुने

काठमाडौं महानगरले सुरू गर्‍यो फोहोरबाट कम्पोष्ट मल बनाउन, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी Read Next

काठमाडौं महानगरले सुरू गर्‍यो फोहोरबाट कम्पोष्ट मल बनाउन, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी