काठमाडौं । पछिल्लो समय सरकार ठेक्का लिएर काम नगर्ने कम्पनी विरुद्ध आक्रमक रुपमा एक्सनमा उत्रिएको छ । ठेक्का सम्झौता अनुसार काम नगर्ने कम्पनीहरुलाई धमाधम कालोसूचीमा राख्न थालेको हो ।
चालु आर्थिक वर्षको ७ महिनामा मात्रै ९४ वटा कम्पनीलाई कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार थप ५ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि २ वर्षका लागि कालोसूचीमा राखेको हो ।
कार्यालयले मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनलाई २ वर्षका लागि कालोसूचीमा राखेको छ । त्यसैगरी, गुण निर्माण सेवा, जय गढीमाई निर्माण कन्स्ट्रक्सन, इन्जिनियर्स कन्स्ट्रक्सन एण्ड माइन्ड क्राफ्ट र कल्पना कन्स्ट्रक्सनलाई ११ वर्षका लागि कालोसूचीमा राखेको छ ।
कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।