काठमाडौं । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको व्यवसाय विस्तार सुस्त देखिएको छ । निक्षेप संकलनमा केही सुधार आए पनि कर्जा लगानी भने निकै सुस्ताएको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चालु आवको ७ महिना (साउन–माघ)मा बैंकहरूले २ खर्ब निक्षेप संकलन गरेको छन् । सोही अवधिमा कर्जा लगानी भने १ खर्ब १५ अर्ब मात्र रहेको छ ।
समीक्षा अवधिमा बैंकहरूले निक्षेपबाट संकलन गरेको करिब आधा रकम मात्रै कर्जा लगानी गर्न सकेका छन् । गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रहेको बैंकहरूको निक्षेप माघसम्म आइपुग्दा २ खर्बले बढेर ४७ खर्ब ४१ अर्ब पुगेको छ ।
यसै अवधिमा बैंकहरूको कर्जा विस्तार १ खर्ब १५ अर्बले मात्र बढेको छ । असार मसान्तसम्म ४१ खर्ब ७७ अर्ब रहेको बैंकको कर्जा लगानी माघसम्म आइपुग्दा ४२ अर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेपमा सुधार भए पनि माग नहुँदा कर्जा लगानीमा भने सुधार हुन सकेको छैन । बैंकिङ प्रणालीमा भएको ब्याजदर वृद्धिका कारण कर्जाको माग एकदम कम रहेको बैंकरहरू बताउँछन् ।
अहिले बैंकहरूको औसत बेसरेट नै १० प्रतिशत माथि रहेको छ भने त्यसमा प्रिमियमा जोड्दा ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । महँगो व्याजदर तिरेर व्यापार, व्यवसाय गर्न नसकिने भन्दै उद्योगीहरूले बैंकबाट ऋण लिएका छैनन् । जसको प्रभाव बैंकको व्यवसायमा परेको हो । बैंकहरूसँग लगानी योग्य रकम भए पनि कर्जाको माग नहुँदा कर्जा विस्तार पछिल्लो ६ वर्ष यताकै न्यून रहेको छ ।
चालु आवमा नेपाल राष्ट्र बैंकले १२.६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिए पनि सो नभेटाउने संकेत देखिएको छ । राष्ट्र बैंकको लक्ष्य अनुसार चालु आवमा ५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गर्नुपर्नेमा बैंकहरूले ७ महिनामा लक्ष्यको २० प्रतिशत मात्र कर्जा लगानी गर्न सकेका हुन् । लक्ष्य भेट्टाउन अब ५ महिनामा बैंकहरूले ४ अर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गर्नुपर्ने हुन्छ । जुन असम्भव जस्तै देखिन्छ । किनभने तत्काल बैंकको ब्याजदर ह्वात्तै घट्ने र कर्जाको माग बढ्ने सम्भावना देखिँदैन ।
आक्रमक बन्दै नबिल, सुस्ताउँदै कुमारी
समीक्षा अवधिमा हाल संचालनमा रहेका २२ वटा वाणिज्य बैंकमध्ये ३ वटाको निक्षेप संकलन घटेको छ । यस अवधिमा कुमारी, प्रभु र सिभिल बैंकको निक्षेप संकलन असारको तुलनामा घटेको छ । त्यस्तै, यही अवधिमा ४ बैंकको कर्जा लगानी घटेको छ । असारको तुलनामा नेपाल, कुमारी, ग्लोबल आइएमई र सनराइज बैंकको कर्जा लगानी घटेको छ ।
चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांक हेर्दा नबिल बैंक निक्षेप संकलन र कर्जा लगानी दुवैमा आक्रमक बनेको छ । ७ महिनाको अवधिमा नबिलले ३० अर्ब निक्षेप संकलन र १४ अर्ब कर्जा विस्तार गरेको छ । यो वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै हो ।
गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेर प्राप्त सिनर्जीबाट नबिलले आफूलाई व्यवसाय विस्तारमा आक्रमक बनाउँदै लगेको देखिन्छ । मर्जर गरेका अन्य बैंकहरूको भने व्यवसाय विस्तार सुस्त देखिएको छ ।
समीक्षा अवधिमा चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो ग्लोबल आइएमईको निक्षेप १८ अर्बले बढे पनि कर्जा लगानी ४३ करोड रुपैयाँले घटेको छ । यस अब अवधिमा ग्लोबलले बैंक अफ काठमाण्डूलाई गाभे पनि कर्जा विस्तार भने गर्न सकेको देखिँदैन ।
त्यस्तै, मेगा र इन्भेष्टमेन्ट बैंक मर्ज भई बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि व्यवसाय विस्तार सुस्त नै देखिएको छ । ७ महिनामा इन्भेष्टमेन्ट मेगाले ९ अर्ब १० करोड निक्षेप संकलन गरी १० अर्ब ८८ करोड कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा एनसीसीलाई गाभेको कुमारी बैंकको व्यवसाय भने उल्टो घटेको छ । यस अवधिमा कुमारीको निक्षेप १८ अर्ब ७० करोड रुपैयाँले घटेको छ भने कर्जा लगानी १ अर्ब ६५ करोडले घटेको छ ।