काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबारदेखि ओरालो लागेको नेप्से लगातार चौथो दिन दोहोरो अंकले घटेको छ । यस साताको ४ कारोबार दिनमा नेप्से १११ अंकले घटेको छ ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो । लगानीकर्ताले सेयर धितो कर्जाम लगाइएको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि राष्ट्र बैंकले सुनुवाई नगरेपछि नेप्से लगातार घटेको हो ।
बिहीबार नेप्से २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा आइपुगेको छ । यसदिन २५६ कम्पनीको १ अर्ब ६८ करोड रुपैयाँ बढीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै १.९२ प्रतिशतले घटेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको सवा ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर ५ करोड र ङादी ग्रुपको ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज युनिलिभर नेपालका सेयरधनीले सबैभन्दा धेरै ५.९१ प्रतिशत गुमाएका छन् । त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्स ५.५१, सिनर्जी पावर ४.२९, धौलागिरी लघुवित्त ४.२३, लिबर्टी इनर्जी ४.०१, न्यादी हाइड्रोपावर, कालिका पावर, सामलिङ पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।