७२ मेगावाटका ९ सोलार आयोजना बन्दै, कहाँ कति मेगावाटको ?

काठमाडौं । नेपाल ‘हाइड्रोपावर हब’ भए पनि पछिल्लो समय सौर्य ऊर्जामा पनि आकर्षण बढ्न थालेको छ । तुलानात्मक रुपमा हाइड्रोपावरकोभन्दा निर्माण लागत सस्तो हुने भएपछि लगानीकर्ताले सोलार आयोजनामा लगानी बढाउन थालेका हुन् ।

सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरूको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरूको सङ्ख्या बढ्न थालेको हो ।

अहिले ५ हजार मेगावाट बराबरका जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् । अधिकांश लगानीकर्ताको रोजाइ हाइड्रोपावर क्षेत्र नै रहेको छ । केही लगानीकर्ताले भने हाइड्रोको साथसाथै सौर्य ऊर्जामा पनि लगानी बढाउँदै लगेका छन् ।

चालु आर्थिक वर्षको ६ महिना मात्रै सौर्य ऊर्जामा साढे ७ अर्ब लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको पुस मसान्तसम्म ९ सोलार आयोजनामा ७ अर्ब ४६ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो ।

ती आयोजनाबाट कुल ७२ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । १० किलोवाटदेखि १० मेगावाटसम्मका आयोजना निर्माण हुन लागेका हुन् ।

हालसम्म नेपालको बिजुली उत्पादन क्षमता २२०० मेगावाट रहेको छ । सोमध्ये जलविद्युत् आयोजनाबाट २१५० मेगावाट बढी हाइड्रोपावरबाटै उत्पादन भइरहेको छ । सोलारबाट करिब ५० मेगावाट मात्रै बिजुली उत्पादन हुन्छ ।

कहाँ कति मेगावाटको बन्दै छन् ?

चालु आवमा दर्ता भएका आयोजनाले देशका विभिन्न ९ ठाउँमा सोलार प्लान्ट निर्माण गर्ने भएका छन् । इष्ट सोलार प्रालिले झापाको गौरादहमा ५ मेगावाटको सौर्य प्लान्ट निर्माण गर्ने भएको हो । कम्पनीले ६० करोड ५० लाख रुपैयाँ लगानीमा सो आयोजना बनाउन लागेको हो ।

यसैगरी, इलाममा वाटर इनर्जी सोलुसन प्रालिले ८.३ मेगावाटको सोलार आयोजना निर्माण गर्न लागेको छ । कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ लगानीमा उक्त प्लान्ट निर्माण गर्न लागेको हो ।

यस्तै, तराई सोलार प्रालिले पर्सामा ५६ करोड रुपैयाँ लगानीमा ७.७ मेगावाटको सोलार प्लान्ट बनाउने भएको छ । यसैगरी, काठमाडौंमा सिम्पल इनर्जी प्रालिले १२ करोडमा ७० किलोवाट, पशुपति रिन्यूएबल प्रालिले कपिलवस्तुमा८८ करोडमा १० मेगावाटको सोलार निर्माण गर्न लागेको छ ।

यस्तै, सर्लाहीमा इको घाम पावर कम्पनीले ८० करोडमा १० मेगावाट, सिराहामा इको सन पावर डेभलपमेन्टले ९६ करोड लगानीमा १० मेगावाट, दाङमा शुभम नङयुआन प्रालिले ९२ करोडमा १० मेगावाट र बर्दियामा भारती लक्ष्मी इनर्जीले ९६ करोड रुपैयाँ लगानीमा १० मेगावाट सोलार आयोजना निर्माण गर्न लागेका हुन् ।

चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन गरिँदै

पछिल्लो समय ऊर्जाको वैकल्पिक स्रोतहरूको खोजी भइरहेको छ । यसैक्रममा, चुम्बकीय प्रविधिबाट समेत बिजुली उत्पादन गरिने भएको छ ।

ईबीएम नेपाल प्रालिले भक्तपुरमा चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन गर्ने भएको छ । सो कम्पनीले ५ अर्ब ५८ करोड रुपैयाँ लगानीमा ५० मेगावाटको आयोजना निर्माण गर्न लागेको हो ।

 

 

बचत फिर्ता नगरेकाे भन्दै काठमाडौंका १३७ सहकारीविरुद्ध उजुरी Read Previous

बचत फिर्ता नगरेकाे भन्दै काठमाडौंका १३७ सहकारीविरुद्ध उजुरी

इङवा हाइड्रोपावरले पायो आइपीओ जारी गर्न अनुमति Read Next

इङवा हाइड्रोपावरले पायो आइपीओ जारी गर्न अनुमति