काठमाडौं । भाइमसलामा विशेष ठाउँ पाउने काजुको मूल्य यो पटक घटेको छ । काजुको मूल्य १ सय ५० रुपैयाँले घटेको हो ।
गत वर्ष काजुको मूल्य १ हजार ६ सय ५० प्रतिकेजी रहेको थियो । यो वर्ष तिहारमा काजुको मूल्य प्रतिकेजी १ हजार ५ सय रुपयाँ मात्र रहेको छ ।

चालू आर्थिक वर्षको भदौसम्ममा १६ करोड ३ लाख १७ हजार रुपैयाँ बराबरको काजु आयात भएको छ । सो रकममा झण्डै १ लाख ९६ हजार केजी काजु आयात भएको हो ।
अन्य भाइमसलाको मूल्य बढ्यो
यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाहरु मध्येमा काजु बाहेका अन्य सबैको मूल्य बढेको छ ।
बदामः बदामको मूल्यमा १ सय ५० रुपैयाँ वृद्धि भएको छ । गत वर्ष १ हजार १ सय ५० रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा असनका बजारमा विक्री हुने गरेको बदाम यो पटक १ हजार ३ सय रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

चालू आर्थिक वर्षको भदौ महिनासम्ममा १४ करोड ४३ लाख २५ हजार रुपैयाँ बराबरको बदाम आयात भएको छ । सो अवधिमा झण्डै १ लाख ७३ हजार केजी बदाम आयात भएको हो ।
पेष्ताः पेष्तामा ३ सय ५० रुपैयाँ मूल्य वृद्धि भएको हो । गत वर्ष पेष्ताको मूल्य प्रतिकेजी १ हजार ३ सय ५० रुपैयाँ रहेको थियो । यो वर्ष तिहारमा पेष्ताको मूल्य प्रतिकेजी १ हजार ७ सय रुपैयाँ रहेको छ ।

चालू आवको भदौसम्ममा ४ लाख ५५ हजार रुपैयाँ बराबरको पेष्ता आयात भएको छ । सो अवधिमा ४ सय ४ केजी पेष्ता आयात भएको हो ।
किसमिसः किसमिसको मूल्य ३ सय ९० रुपैयाँ प्रतिकेजीबाट ५ सय रुपैयाँ केजीमा उकालो लागेको छ । चालू आर्थिक वर्षको भदौँसम्ममा १ करोड ९६ लाख ५६ हजार रुपैयाँको किसमिस आयात भएको छ । सो अवधिमा २ लाख ९० केजी किसमिस आयात भएको हो ।

छोकडाः छोकडाको मूल्य प्रतिकेजी १ सय ६० बाट २ सय रुपैयाँ प्रतिकेजीमा पुगेको छ । चालू आवको भदौसम्ममा ४८ करोड २८ लाख रुपैयाँ बराबरको छोकडा आयात भएको छ । सो अवधिमा ५६ लाख ६७ हजार केजी छोकडा आयात भएको हो ।

नरिवलः नरिवलको मूल्य ३ सय १० रुपैयाँ प्रतिकेजीबाट ४ सय ५० रुपैयाँमा पुगेको थियो । चालू आर्थिक वर्षको २ भदौसम्ममा ११ करोड ५४ लाख ७८ हजार रुपैयाँको नरिवल आयात भएको छ । सो अवधिमा १५ लाख ८२ हजार केजी नरिवल आयात भएको हो ।
