कमला-कञ्चनपुर सडक विस्तार तीव्र गतिमा, महिनामै ५ प्रतिशत प्रगति गर्दै

"२ महिनापछि कालोपत्र सुरू गरिने"

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कंचनपुर–कमला सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ । सडक निर्माण अवधि अब ९ महिनामात्र बाँकी रहेकाले ठेकेदारले कामलाई तीव्रता दिएको हो ।

सडक विभागका मानिर्देशक अर्जुनजंग थापाका अनुसार कमला–कन्चनपुर खण्डमा मासिक ५ प्रतिशत भौतिक प्रगति हुने गरी काम भइरहेको छ ।

उनले सिराहाको ४७ किलोमिटरमा कालोपत्रका लागि ठेक्का लागि सकेको जानकारी दिए । उनका अनुसार अबको २ महिना पछि कमला–कंचनपुर खण्डमा कालोपत्रको काम सुरू हुने छ ।

‘अहिले कमला कन्ंचनपुरमा मासिक ५ प्रतिशतले प्रगति हुने गरी काम भइरहेको छ, २ महिनापछि कालोपत्रको काम पनि सुरू हुन्छ,’ उनले चाणक्य पोष्टसँग भने ।

योजना प्रमुख गागलकुमार भण्डारीले आयोजना अन्तर्गत २५ वटा पुल मध्ये २१ वटा पुल निर्माणको काम भइरहेको बताए । उनका अनुसार २१ वटा पुलहरू पाइल फाउन्डेशन अर्थात पिलर गाड्ने काम भइ सब स्ट्रक्चर र सुपर स्ट्रक्चर निर्माणको काम भइरहेको छ । ४ वटा पुल भने ओपन फाउन्डेसन अर्थात जग खनेर बनाउनु पर्ने भएकाले २१ वटा पुल निर्माण सकिएपछि मात्र उक्त पुल निर्माण सुरू गरिनेछ ।

उनले आयोजनाको निर्माण सकिनलाई अझै १ वर्ष म्याद थप्नु पर्ने बताए । उनका अनुसार निर्माण कम्पनीले १ वर्ष म्याद थपका लागि दाबी गरिसकेको छ । सडक विभागमा उक्त पत्र पठाइएको छ ।

यो आयोजनाको म्याद २०२३ को अक्टोबर २८ सम्मका लागि मात्र रहेको छ । हाल आयोजनामा २०० कल्भर्ट निर्माणको काम भइरहेको छ । उनले २०२३ जनवरीसम्म आयोजनामा २७ प्रतिशत भौतिक प्रगति भएको बताए ।

‘काम धमाधम भइरहेको छ, पहिला कोभिड र त्यसपछि निर्माण सामग्रीका कारण काम हुन सकेको थिएन,’ भण्डारीले चाणक्य पोष्टसँग भने ‘म्याद थप भयो भने चाइनिजले ६ महिनामै काम सक्ने छ ।’
उनले हाल आयोजनामा ५०० हाराहारी जनशक्तिले काम गरिरहेको बताए । ५० जना चिनियाँ निर्माणस्थलमा खटिरहेका छन् ।

निर्माण सकिन अब ९ महिना बाँकी रहेको छ । वि.सं. २०७७ कार्तिक १३ गतेदेखि स्तरोन्नतिको काम सुरू हुने गरी सम्झौता गरिएको यस आयोजनाको काम २०८० कार्तिक ११ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

कुल ८६.८२ किलोमिटर लम्बाइ रहेको यस सडक ४ लेनमा स्तरोन्नती सहित कालोपत्र गर्ने लक्ष्य रहेको छ । हालसम्म यस खण्डमा २७ प्रतिशत मात्र भौतिक प्रगति भएको हो ।

उनका अनुसार यस आयोजनामा हालसम्म कुल बजेटको १३ प्रतिशत भुक्तानी भइसकेको छ । भ्याटसहित १५ अर्ब ६६ करोड रुपैयाँ मा निर्माण सम्पन गर्ने गरी चिनियाँ कम्पनी चाइना रेलवे इन्जिनीयरिङ ग्रुप करपोरेसन (सीआरइजीसी) ले ठेक्का लिएको थियो ।

सडकको स्तरोन्नति सम्झौता भए लगत्तै कोभिड १९ सुरू भएका कारण निर्माणले गति लिन नसकेको एशियाली विकास आयोजनाका आयोजना निर्देशक राकेश महर्जनले बताए ।

‘आयोजना सम्झौता भए लगतै कोभिड १९ सुरू भयो, त्यसले गर्दा चिनियाँ कामदार धेरै संक्रमित भए जसले गर्दा काम ठप्प भयो,’ महर्जनले चाणक्य पोष्टसँग भने ।

उनले उक्त कम्पनीले चालु आर्थिक वर्षमा ४० प्रतिशतसम्म सडक कालोपत्र गर्ने योजना पेस गरेको बताए । निर्माण कम्पनीले कमला कन्चनपुरमा चालु आवभित्रै कालोपत्र सक्ने योजना बनाएको उनले बताए ।

चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा आउँदै Read Previous

चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा आउँदै

एचआइडीसीएलको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Next

एचआइडीसीएलको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?