समयमै नबन्दा राष्ट्रिय गौरवका आयोजनाको लागत १५ खर्ब बढ्यो, कुनको कति ?

काठमाडौं । तोकिएको समयमै निर्माण सम्पन्न नहुँदा राष्ट्रिय गौरवका आयोजनाको लागत दोब्बरभन्दा धेरैले बढेको छ ।

ठेकेदारको लापारबाही, सरकारको वेवास्ता, कामदार अभाव, निर्माण सामग्रीको अभाव, मुआब्जा विवाद, स्थानीयको अवरोध लगायत कारणले समयमै सम्पन्न नहुँदा आयोजनाहरूको लागत १० गुणासम्म बढेको हो ।

निर्माण सुरू भएको दशकौं बित्दासमेत कामले गति नलिँदा यस्ता आयोजनाको लागत बढ्दै गएको छ । राष्ट्रिय योजना आयोगका अनुसार हाल निर्माणाधीन अवस्थामा रहेका गौरवका आयोजनको लागत औसतमा अढाई गुणाले बढेको छ ।

हाल निर्माणको क्रममा रहेका २३ वटा आयोजनाको निर्माण लागत १४ खर्ब ६८ अर्ब रुपैयाँले बढेर २५ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । यी आयोजनाहरूको सुरूआती लागत ११ खर्ब २९ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।

निर्माण सम्पन्न लक्ष्य लिएको अवधिसम्म कुनै आयोजना सुरू नै गरिएको छैन भने केही आयोजनाको निर्माण प्र्रगति सुस्त छ ।
सरकारले आर्थिक वर्ष २०६८/६९ मा पहिलोपटक १७ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो । हाल यो संख्या २४ पुगेको छ । तर, राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको एक दशकसम्म पनि केही आयोजनाको निर्माण अघि बढाउने सकेकोे छैन ।

राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने रणनीतिक आयोजनाहरूलाई सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गर्छ । निर्माणका लागि महत्वपूर्ण र प्राथमिकतामा राखिएको भनिएका यिनै आयोजनाको भने अवस्था नाजुक छ ।

दुई दर्जन आयोजना मध्ये आधा दर्जन पनि हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । गौरवका आयोजनामध्ये हालसम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् मात्रै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् ।

सम्पन्न भएर सञ्चालनमा आइसकेका आयोजनाको पनि प्रतिफल अनिश्चित बनेको छ । जसको कारण यी आयोजनाको सञ्चालन खर्च समेत नउठ्दा सरकारको व्यय भार थपिँदै गएको छ ।

बुढीगण्डकी, पश्चिम सेती, निजगढ विमानस्थल जस्ता ठूलो लागतका आयोजनाहरूमा सरकार अहिलेसम्म कसरी निर्माण गर्ने भन्नेमै अलमल छ । तीन दशअघि निर्माण सुरू गरिएको मेलम्ची खानेपानी आयोजनाको काम हालसम्म सम्पन्न भएको छैन ।

आयोजना निर्माणमा सरकारी संयन्त्रको लापरबाही, लगानी जुटाउन नसक्नु पूर्वाधार नीतिमा प्रस्ट नहुनुले राष्ट्रिय रणनीतिक महत्वका आयोजनाहरूको लागत अचाक्ली बढ्दै गइरहेको छ ।

बढ्दो मूल्य र निर्माण सामग्रीको लागत वृद्धि, उपकरणको खरिद तथा प्रयोगमा भइरहेको परिवर्तनले आयोजनाको लगानी बढ्दो छ । सरकारले पछिल्ला चार आर्थिक वर्षमा मात्र राष्ट्रिय गौरवका आयोजना निर्माणको लागि ३ खर्ब २५ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।

कुन आयोजनाको लागत कति बढ्यो ?

सरकारले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म विद्युतीय रेल मार्ग निर्माणका लागि २०६५/२०६६ मा परियोजना अघि बढाएको थियो । २०८६/८७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनाको सुरूआती लागत ७ अर्ब रुपैयाँ रहेकोमा हाल संशोधित लागत अनुमान ९ खर्ब ५५ अर्ब पुगेको छ ।

बबई आयोजनाको लागत २ अर्ब ८७ करोडबाट १८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । २०४५ सालदेखि सुरू गरिएको यस आयोजना सुरूमा २०७० सालभित्र सम्मपन्न गर्ने लक्ष्य लिए पनि हाल उक्त लक्ष्य संशोधन गरेर २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यसैगरी, २०७१/७२ देखि लागू गरिएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागत १ अर्ब २५ करोड रुपैयाँबाट २ खर्ब ४८ अर्ब पुगेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको २०६४/६५ मा सुरूआती लागत अनुमान ३३ अर्ब रुपैयाँ रहेकोमा हाल ८४ अर्ब रुपैयाँ पुगेको आयोगको प्रतिवेदनले देखाउँछ ।

राजीजमरा कूलरिया सिचाइँ आयोजनाको लागत १२२ प्रतिशतले बढेर २७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । पश्चिमसेती, हुलाकी लोकमार्ग, काठमाडौं–तराई मधेस दूर्तमार्ग आयोजनाको लागत अनुमान १ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा संशोधित अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

हुलाकी लोकमार्ग, कोशी करिडोर, कर्णाली करिडोर लगायतका आयोजनाहरूको लागत पनि बढेको छ ।

 

सेयर बजारमा करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

सेयर बजारमा करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान, काठमाडौंका यी सडकमा जोडिँदैछ Read Next

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान, काठमाडौंका यी सडकमा जोडिँदैछ