काठमाडौं । प्रदेश राजधानी हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो नाका हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं सडक फागुन १ गतेदेखि करिब २ महिना बन्द हुने भएको छ ।
हाल विस्तारको क्रममा रहेको उक्त सडकमा सवारी आवगमन बन्द गरेर निर्माणलाई तीव्रता दिन लागिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सो सडक मर्मत दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएसँगै कामलाई तीव्रता दिन लागिएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले मर्मत तीव्ररुपमा गर्न हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक आगामी फागुन १ गतेबाट बन्द गरिने बताए ।
सो कार्यका लागि वैकल्पिक सडकको प्रयोग गर्नुपर्दा यातायात व्यवसायीलाई सरकारले निःशुल्क रुट परमिटको व्यवस्था गर्नुको साथै परमिटको म्याद नाघेमा जरिवाना नलिने उल्लेख गर्दै उनले व्यवसायीलाई भाडादर यथावतै राख्न आग्रह गरे।
उनको अनुसार करिब दुई महिनाभित्र हेटौैँडाबाट काठमाडौँ जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्ने गरी मर्मतको काम हुने भएको छ ।
‘वैकल्पिक सडकका रुपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन गर्नुपर्छ,’ मुख्यमन्त्री जम्कट्टेलले भने ।
भीमफेदी–भैँसे सडकखण्ड (११ किलोमिटर), हुमाने फर्पिङ सडकखण्ड (७.५ किमी), दक्षिणकाली–छैमले सडकखण्ड (८ किमी) र छैमले– सिस्नेरी सडकखण्ड (११ किमी) को निर्माण कार्य तीव्ररुपमा सम्पन्न गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।