निजी क्षेत्रकै सबैभन्दा ठूलो हाइड्रो बनाइरहेको साहस ऊर्जाको नाफामा उच्च गिरावट, ईपीएस कति ?

काठमाडौं । साहस ऊर्जा लिमिटेडको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३७.२५ प्रतिशतले घटेको छ ।

चालु वर्षको पुस मसान्तसम्म कम्पनीले २१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३ करोड रुपैयाँ कम हो । कम्पनीले गत वर्षको पुससम्म ३४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सर्भिस कन्सेसन एग्रिमेन्ट आम्दानी र संचालन नाफा घट्दा नाफामा असर परेको हो । समीक्षा अवधिमा कम्पनीको सर्भिस कन्सेसन एग्रिमेन्ट आम्दानी २ अर्ब ४३ करोडबाट घटेर १ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, कम्पनीको संचालन नाफा ३७.२४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीको संचालन नाफा ३४ करोड ४२ लाखबाट घटेर २१ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको आयोजना निर्माणधीन अवस्थामै रहेकाले विद्युत् विक्रीबाट आम्दानी हुन सकेको छैन । हाल ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब ३१ करोड रुपैयाँ संचिति छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १६४.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.०२ गुणा रहेको छ ।

कम्पनीले हाल सोलुखुम्बुमा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भई परीक्षणको चरणमा रहेको कम्पनीले जनाएको छ । यो निजी क्षेत्रले निर्माण गरिरहेको हालसम्मकै ठूलो क्षमताको आयोजना हो ।

यस आयोजनाको लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जसअनुसार प्रति मेगावाट लागत साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । यसलाई तुलनात्मक रुपमा प्रतिमेगावाट लागत सस्तो मानिन्छ ।आयोजनामा नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा १० बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।

वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा १ अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरी वार्षिक २ अर्ब ८६ करोड रुपैयाँको विद्युत विक्री गर्नेछ ।

आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

तरकारी ढुवानी गर्न अब कृषि एम्बुलेन्स Read Next

तरकारी ढुवानी गर्न अब कृषि एम्बुलेन्स