दुई आन्तरिक विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै, ७ अर्बमा ठेक्का

सांकेतिक तस्वीर

काठमाडौं । सरकारले दुई आन्तरिक विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको टर्मिनल भवन बनाउने भएको छ । यात्रु सेवा विस्तारका लागि विराटनगर र नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक सेवा सहितको टर्मिनल भवन निर्माण गर्न लागेको हो ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार ती दुई विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि ठेक्का लागिसकेको छ । यी क्षेत्रीय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको टर्मिनल भवन निर्माणको काम सुरू गर्न लागिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

विराटनगर विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि केसी, डाँफे जेभीले ठेक्का पाएको छ । नेपालगञ्जमा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि शर्मा एण्ड कम्पनीले ठेक्का पाएको छ ।

दुवै कम्पनीले साढे ३/साढे ३ अर्ब रुपैयाँमा ठेक्का पाएको प्रवक्ता जगन्नाथ निरौलाले बताए ।‘साढे ३/साढे ३ अर्बमा दुवै कम्पनीको ठेक्का लागेको हो, यसको काम लगभग सुरू भइसक्यो,’ निरौलाले चाणक्य पोष्टसँग भने ।

प्राधिकरणकी इन्जिनीयर समिता पन्जालीका अनुसार २ टर्मिनल निर्माणका लागि ठेक्का लागि सकेको छ । उक्त टर्मिनल भवन निर्माण १ साताभित्र सुरू हुने उनले बताइन् । उनले भरतपुर विमानस्थलमा समेत टर्मिनल भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइरहेको बताइन् ।

साथै, भरतपुर विमानस्थलको ठेक्का प्रक्रिया चलिरहेको उनले बताइन् । उक्त ठेक्का प्रक्रिया १ महिनाभित्र पूरा हुने उनको भनाइ छ ।

‘विराटनगर र नेपालगञ्ज विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि ठेक्का लगाइएको छ, १ हप्ताभित्र काम सुरू हुन्छ, भरतपुरमा ठेक्का लागिसकेको छैन, प्रक्रियामा छ,’ पन्जालीले चाणक्य पोष्टसँग भनिन् ।

यात्रु सेवा विस्तारका लागि विमानस्थलमा अत्याधुनिक सेवा सहितको टर्मिनल भवन निर्माण गर्न लागिएको हो । विमानस्थलमा यात्रुको चाप बढ्न थालेपछि टर्मिनल भवन विस्तारलाई प्राथमिकता दिइएको उनले जानकारी दिइन् ।

धावनमार्ग विस्तार गरिँदै

हाल १ हजार ५०० मिटर लम्बाइ रहेको यी विमानस्थलमा एटीआर–७२ सिरिजका जहाजले नियमित उडान गर्दै आएका छन् । टर्मिनल भवन विमानस्थलसँगै १२२ बिघा क्षेत्रफलमा फैलिएको विराटनगर विमानस्थललाई विस्तार गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना रहेको हो ।

अहिले विमानस्थलको धावनमार्गको लम्बाइ १ हजार ५०० मिटर रहेको छ । धावनमार्ग विस्तार गरी २ हजार ५०० पुर्याउने लक्ष्य रहेको छ ।

प्राधिकरणले चालु आवभित्र दुवै विमानस्थलको धावनमार्ग २०० मिटर विस्तार गर्ने योजना बनाएको छ । १५ हजार स्क्वायरमिटर ओगट्ने अत्याधुनिक टर्मिनल भवनमा लाउन्ज सहितको कमर्सियल कम्प्लेक्स पनि समावेश हुने छ ।

कोभिडका कारणले ३ वर्षअघि रोकिएको विमानस्थल सेवा विस्तार योजना अघि बढाइएको हो । यस्तै, भरतपुर विमानस्थल स्तरोन्नति अन्तर्गत धावनमार्ग विस्तारका लागि नेपाली सेनाको जग्गा प्रयोग गर्ने प्राधिकरणको योजना रहेको छ ।

प्राधिकरणका प्रवक्ता निरौलाले यसका लागि नेपाली सेनासँग छलफल भइरहेको बताए । प्राधिकरणले भरतपुर विमानस्थलको धावनमार्ग लम्बाइ थप ४०० मिटर विस्तार गर्न लागेको हो । १ हजार १०० मिटर लम्बाइ धावनमार्ग रहेको यो विमानस्थलमा हाल एटीआर–४२ सिरिजको जहाजले नियमित उडान गर्दै आएको छ ।

पहाडी क्षेत्रमा सबैभन्दा धेरै मूल्य वृद्धि Read Previous

पहाडी क्षेत्रमा सबैभन्दा धेरै मूल्य वृद्धि

आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?