एटीआर विमान दुर्घटना : प्रारम्भिक अनुसन्धान सम्पन्न, डाटा रेकर्डरमा के देखियाे ?

काठमाडौं । माघ पहिलाे साता पाेखरामा भएकाे एति एयरलाइन्सकाे विमान दुर्घटना पछि छानविन गर्न बनाइएकाे जाँचबुझ आयाेगले अनुसन्धान तथा विश्लेषण सम्पन्न गरेकाे छ । आयाेगले विमानकाे फ्लाइट डाटा रेकर्डर र ककपीट भ्वाइस रेकर्डरकाे अनुसन्धान तथा विश्लेषण प्रारम्भिक रूपमा सम्पन्न गरेकाे हाे ।

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त नाइन एन एएनसी जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको अर्थात  निश्चित डिग्री अनुसार छड्के नभएर सिधा गएकाे आयाेगले जनाएको छ ।

जहाजका दुबै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षहरुबारे थप अनुसन्धान अगाडि बढाइ सकेको छ ।

उक्त फ्लाइट डाटा रेकर्डर र भ्वाईस डाटा रेकर्डरको डाटाहरुको विश्लेषण गर्न आयोगको नेतृत्वमा टीएसआइबी सिङ्गापुर बीइए फ्रान्स, टीएसबी क्उानडा र इएएसएका प्रतिनिधिहरु समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो ।

पदाधिकारीहरुबाट सिङ्गापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षहरुको थप अध्ययन पनि गरिएको थियो ।

दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुबैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्य सचिवहरुलाई पठाएको थियाे ।

उक्त कार्य सम्पन्न गरी आयोगका पदाधिकारहरु नेपाल फर्केको आयाेगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जानकारी गराए ।

आयोगबाट अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकोले हालसम्म प्राप्त सूचना र तथ्याङ्कको विश्लेषण र अनुसन्धानको आधारमा हवाई उडानमा थप सुरक्षा अभिवृद्धि गर्न सम्बन्धित निकायलाई तत्काल अपनाउनुपर्ने सुरक्षात्मक उपायहरु सम्मिलित अन्तरिम सुरक्षा सिफारिसहरु सहितको प्रारम्भिक प्रतिवेदन पेश गर्ने तयारी भईरहेको उनले बताए ।

माघ १ मा काठमाडाैंबाट पोखरा उडानमा रहेको यति एयरलाइन्सको ९एन एएनसी कलसाइन रहेको वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ रअ वानटूबाट अवतरणको क्रममा भएको दुर्घटना भएकाे थियाे ।

उक्त दुर्घटनामा ४ जना चालकदलका सदस्य सहित ७२ जनाले ज्यान गुमाएका थिए । दुर्घनापछि सरकारले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेकाे संयाेजकत्वमा जाँचबुझ आयाेग गठन गरेकाे थियाे ।

गाडीको करको दर स्थिर राख्न अर्थमन्त्रीलाई जामको सुझाव Read Previous

गाडीको करको दर स्थिर राख्न अर्थमन्त्रीलाई जामको सुझाव

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ? Read Next

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?