यस वर्ष तोरीको उत्पादन बढ्ने

कावासोती । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ ।

यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शकंर पौडेलले बताए ।

विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन् । उनका अनुसार जिल्लामा यस वर्ष १ हजार १८५ हेक्टर जमिनमा तोरीखेती गरिएकामा १ हजार २८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान छ । गत वर्ष जिल्लामा १ हजार १३५ हेक्टर जमिनमा १ हजार ३३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

तोरीखेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो । विषेशगरेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायासी प्रयोगका लागि तोरीखेती गर्न लागेका सूचना अधिकारी पौडेलले बताए । तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पुर्याउने भएकाले तोरीखेती गर्ने किसानको सङ्ख्या बढेको सूचना अधिकारी पौडेल बताउँछन् ।

जिल्लामा तोरीसँगै यस वर्ष अर्को तेलहन बाली सर्स्यूको उत्पादन पनि बढ्ने देखिएको छ । यस वर्ष जिल्लामा १ हजार २६० हेक्टर जमिनमा १ हजार ७१५ मेट्रिक टन सर्स्यू उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए। उनका अनुसार गत वर्ष जिल्लामा १ हजार २७० हेक्टर जमिनमा १ हजार ७०८ मेट्रिक टन सर्स्यू उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रलगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिँचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरीलगायतका तेलहन बालीको उत्पादन बढेको हो ।रासस

सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

नेपालगञ्ज भन्सारको राजश्व असुली घट्यो, गत वर्षकोभन्दा ९ अर्ब कम Read Next

नेपालगञ्ज भन्सारको राजश्व असुली घट्यो, गत वर्षकोभन्दा ९ अर्ब कम