स्थानीय राजस्व व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक कार्यक्रमबीच उक्त मोडलको शुभारम्भ गरे।

यो प्रणाली सञ्चालनमा आएसँगै वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता, सेवा प्रवाहमा सहजता, खर्चमा मितव्ययिता र वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ । आजदेखि सुरु भएको ‘रेभिन्यु मोडल’ धुलिखेल नगरपालिकामा पूर्णरूपमा सञ्चालनमा आइसकेको र अन्य स्थानीय तहहरूमा क्रमशः लागू गर्दै जाने लक्ष्य लिइएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

रेभिन्यु मोडल शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यो प्रणालीको प्रयोगबाट स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सही ढङ्गले सञ्चालन गर्न निर्देशन दिए। साथै उनले महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायले कानुनी अधिकारको प्रयोग गर्दै दैनिक कार्य सञ्चालनका कामभन्दा माथि उठेर थप सिर्जनशील प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे । आन्तरिक लेखापरीक्षण तथा सरकारी लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन पनि अर्थमन्त्रीले निर्देशन दिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै राजस्व सचिव डा रामप्रसाद घिमिरेले सरकारी निकायहरूमा निष्कृय रहेका खाताहरूको खोजी गर्नुपर्ने र सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताए । रेभिन्यु मोडलको प्रभावकारी कार्यान्वयनबाट त्यो सफल हुने पनि उनको भनाइ छ ।

अर्थसचिव तोयम रायाले हाल सञ्चालनमा रहेका प्रणालीहरूको निरन्तरताको लागि स्रोतको सुनिश्चितता एवं सञ्चित कोष व्यवस्थापन प्रणालीका सम्बन्धमा जानकारी दिँदै सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सह्रानीय रहेको धारणा व्यक्त गरे ।

हिमाल जस्तै अग्लो कदका हिमालय, जसले बनाएका थिए राष्ट्र बैंक स्थापनाको योजना Read Previous

हिमाल जस्तै अग्लो कदका हिमालय, जसले बनाएका थिए राष्ट्र बैंक स्थापनाको योजना

सुपर माइ हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

सुपर माइ हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?