६ महिनामा १४५ उद्योग दर्ता, झन्डै डेढ खर्ब लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कुल १४५ उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृितको तुलनात्मक विश्लेषण तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन् ।

यी उद्योगमा स्वदेशी र विदेशी दुवै खालको लगानी रहेको छ । गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको सङ्ख्या कम हो । गत आवको पुस मसान्तसम्ममा ४६ ठूला, ५७ मझौता र ५२ साना गरी कुल १५५ उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा देखिन्छ ।

चालु आवको पुस मसान्तसम्ममा दर्ता भएका १४५ उद्योगमा रू १ खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ । यसवर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षको भन्दा कम हो । गत आवको पुस मसान्तसम्ममा रू १ खर्ब ९० अर्ब बराबर लगानी प्रतिबद्धता आएको देखिन्छ ।

विभागका अनुसार हालसम्म नेपालमा कुल रू २७ खर्ब ६६ अर्ब लगानी प्रतिवद्धतासहित आठ हजार नौ सय नौ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा ठूला उद्योग एक हजार ३४४, मझौता उद्योग दुई हजार ५८ र साना उद्योग पाँच हजार ५०७ रहेका छन् ।

यसरी हालसम्म दर्ता भएका करिब नौ हजार उद्योगबाट प्रस्तावित रोजगारी छ लाख ६७ हजार तीन सय २३ जना रहेको पनि विभागले जनाएको छ । गत पुस मसान्तसम्ममा दर्ता भएका कूल एक सय ४५ उद्योगमध्ये एक सय ३३ उद्योगमा रू १७ अर्ब ३० करोड बराबर विदेशी लगानीको प्रतिबद्धता आएको छ । हालसम्म नेपालमा कूल पाँच हजार छ सय ६४ विदेशी लगानी स्वीकृति भएको पनि विभागले जनाएको छ ।

यसरी विदेशी लगानी स्वीकृत भएका उद्योगमा ठूला उद्योग तीन सय २४, मझौला उद्योग छ सय २२ र साना उद्योग चार हजार आठ सय १८ रहेका छन् । हालसम्म स्वीकृत कूल विदेशी लगानी प्रतिबद्धता भने रू चार खर्ब ३६ अर्ब बराबर रहेको विभागको तथ्याङ्कबाट देखिन्छ । यसरी विदेशी लगानी स्वीकृत गर्दा प्रस्तावित रोजगारीको सङ्ख्या दुई लाख ९९ हजार नौ सय ६१ जना छ ।

नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ ।

गत पुस मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छ । चालु आवको छ महिना अवधिमा एउटा प्याटेन्ट दर्ता, आठ वटा डिजाइन दर्ता र एक हजार ५५१ ट्रेडमार्क दर्ता भएको पनि विभागले जनाएको छ । विभागमा हालसम्म भएको कूल पेटेन्ट दर्ताको सङ्ख्या भने ८१ छ । त्यस्तै तीन सय डिजाइन र ५७ हजार पाँच सय ६६ ट्रेडमार्क दर्ता भइसकेको विभागले जनाएको छ ।

नेपाल टेलिकम २० औं वर्षमा प्रवेश, दुई करोड १३ लाख २५ हजार बढी ग्राहक Read Previous

नेपाल टेलिकम २० औं वर्षमा प्रवेश, दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी