पूँजी वृद्धिको भारीले थिचिएका एभरेष्ट र चार्टड चम्किँदै, अब फेरि ‘हटकेक’ बन्लान ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दशकअघि वाणिज्य बैंकको संख्या घटाउन लिएको पूँजी वृद्धिको नीतिले साना बैंकहरूको वित्तीय अवस्था नै खल्बलियो ।

मर्जर नीतिअघि आकर्षक प्रगति गर्दै आएका बैंकहरू पूँजी वृद्धिको भारीले थिचिए । थोरै पूँजीमा पनि राम्रो व्यवसायिक ग्रोथ गर्दै आएका विदेशी स्वामित्वका एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआइ लगायत बैंकहरू ४ गुणा पूँजी बढाएपछि खुम्चिए ।

बैंकको व्यवसायिक रणनीति विपरीत पूँजी बढाउन बाध्य भएका यी बैंकहरूको पछिल्ला वर्षहरूमा वित्तीय अवस्था नराम्ररी खच्कियो । बढेको पूँजी अनुसार व्यवसाय बढाउन नसक्दा यी बैंकको नाफा र लाभांश क्षमतामा ठूलो गिरावट आयो ।

विगतमा बम्पर लाभांश दिँदै आएका बैंकहरूले पूँजी वृद्धिपछि अन्य बैंकहरूले जस्तै थोरै लाभांश दिन थाले । जसले विगतमा सेयर बजारका हटकेकमा रुपमा रहेका यी बैंकहरूको सेयर मूल्यमा समेत भारी गिरावट आयो ।

२०७० अघि सेयर लगानीकर्ताको पहिलो रोजाइमा पर्ने स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, एसबीआई लगायत बैंक पूँजी वृद्धिपछि पहिलो रोजाइमा पर्न छाडे । पछिल्ला ४/५ वर्ष यी बैंकहरूको प्रगति औसत रहेको छ ।

पूर्वबैंकर अनलराज भट्टराई पूँजी वृद्धिको नीतिपछि सानो क्यापिटल आकार भएका बैंकहरूको व्यवसायमा असर देखिएको बताउँछन् । ‘बैंकको पूँजी वृद्धिले सेयर संख्या पनि बढ्यो,’ उनले भने, ‘त्यत्ति बेला बैंकको प्रतिफल बढी थियो । बैंकमा लगानी गर्नेहरूको प्रतिफल पनि राम्रै पाए । तर, पछिल्लो समय भने बैंकको प्रतिफल घट्न थालेको छ । अन्य क्षेत्रको भन्दा कम छ ।’

पूँजी वृद्धिको ह्याङबाट उत्रिँदै प्रगति पथमा

पूँजी वृद्धिपछिको ४/५ वर्ष उत्कृष्ट प्रगति गर्न नसकेका एभरेष्ट, चार्टर्डले पछिल्लो १ वर्ष यता आफूलाई चम्काउँदै छन् । अन्य बैंकको तुलनामा न्यून पूँजी भएका यी बैंक व्यापार व्यवसायमा भने प्रतिस्पर्धामा उत्रिएका छन् । दोब्बर बढी पूँजी भएका यी बैंकले कडा टक्कर दिन थालेका छन् ।

१ वर्ष यता चार्टर्ड र एभरेष्टले लगातार नाफा बढाउन सफल भएका छन् । तरलता अभावका कारण अन्य बैंकहरूको व्यवसाय खुम्चिँदा पनि यी बैंकले भने लोभलाग्दो प्रगति गरिरहेका छन् ।

पूँजीको आकारमा लगानीको प्रतिफल बढ्न सकेको नदेखिएको उनले बताए । त्यत्ति बेला कम पूँजी भएका स्र्टन्डार्ड चार्टर्ड, एसबीआई, एभरेष्ट बैंकहरू नीतिगत चपेटामा परे पनि पछिल्लो समय भने व्यवसायिक र स्टक बजारमा प्रभाव जमाउन थालेका छन् ।

स्वदेशी लगानीका बैंकहरूको तुलनामा यी बैंकको पूँजी न्यून छ । तोकिएको पूँजी कायम गरेका चार्टर्ड र एभरेष्ट बैंकको सेयर मूल्य र वित्तीय अवस्था ठूलो पूँजी भएकाहरूको भन्दा अब्बल रहेको देखिन्छ ।

चार्टर्ड, एभरेष्ट र एसबीआई बैंक अन्य बैंक जस्तो व्यवसायिक होडबाजीमा नदेखिएको भट्टराइ बताउँछन् । ‘अन्य बैंकहरू बिच देखिएको निक्षेप बढाउने, ब्याजदर बढाउने, कर्जा बढाउने होडबाजी एभरेष्ट चाटर्ड र एसबीआई बैंकहरूमा देखिएको छैन,’ उनी भन्छन्, ‘उनीहरू जोखिम विचार गरेर मात्र अघि बढेको देखिन्छ । यी बैंकहरूले ठूलो आकार नबढाए पनि आन्तरिक प्रक्रियामा पनि कडाइ गरेका छन् ।’ पूँजी वृद्धि पछि व्यवसाय बढाउन नसकेका यी बैंकले पहिले पहिलेकै अवस्थामा रिकर्भर गरिरहेको बैंकरहरूको विश्लेषण छ ।

‘पूँजी सबै बैंकको बढेको हो । तर, त्यस यताको अवस्था हेर्दा अन्यको तुलनामा यी बैंकको व्यवसाय त्यत्ति बढेको देखिदैन । अहिले बजार र जोखिम हेरेर मात्र लगानी गरिरहेका छन्,’ उनले भने ।

लोभलाग्दो वित्तीय अवस्था

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन हेर्दा यी दुई बैंकको प्रगति लोभलाग्दो छ । तरलता अभावका बाबजूद एभरेष्टले झन्दै दोब्बरले खुद नाफा बढाउन सफल भएको छ भने चार्टर्डले पनि ६० प्रतिशतले नाफा बढाएको छ ।

निक्षेप संकलन र कर्जा लगानीमा पनि उल्लेख्य सुधार गरेका छन् । पुस मसान्तसम्म एभरेष्टले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.२९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.५६ प्रतिशत बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ८९.२० प्रतिशत बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

हाल १० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा ९ अर्ब ९० करोड र रिटेन्ड अर्निङमा २ अर्ब ८४ करोड र सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८४ करोड रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ९.४३ प्रतिशत र कर्जा १०.७१ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७.०९ रुपैयाँ बढेर २९.६९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २२१.३९ रुपैयाँ, बेसरेट ९.९७ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.०८ गुणा, खराब कर्जा ०.५५ प्रतिशत रहेको छ ।

त्यसैगरी, चार्टर्डले खुद नाफा ६१.३६ प्रतितशले बढाएको छ । पुससम्म चार्टर्डले १ अर्ब ७५ करोड नाफा कमाएको छ । जबकी गत वर्ष सोही अवधिमा १ अर्ब ८ करोड नाफा कमाएको थियो ।

समीक्षा अवधिमा चार्टर्डको १ खर्ब २ अर्ब निक्षेप संकलन गरी ८१ अर्ब कर्जा लगानी गरेको छ । हाल ९ अर्ब ४२ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष र रिटेन्ड अर्निङ गरी ९ अर्ब बढी संचित छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३७.१९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५.७३ रुपैयाँ छ । खराब कर्जा ०.७२ प्रतिशत छ ।

अब फेरि हट केक बन्लान ?

पूँजी वृद्धि अघि स्टान्र्टड चार्टर्ड बैंकको सेयर मूल्य ९ हजार पुगेको थियो भने एभरेष्ट बैंकको ४ हजारसम्म पुगेको थियो । त्यसयता स्टक बजारमा ओरालो लागेको यी बैंकको सेयर मूल्य घटेर इतिहासकै कम मूल्यको रेकर्ड बनायो । यी बैंकको सेयर मूल्य प्रतिकित्ता ३५० रुपैयाँ हाराहारीमा आएको थियो ।

तर, पछिल्लो समय यी बैंकको सेयर मूल्य उकालो लाग्न् थालेको छ । १ वर्षको अवधिमा यी बैंकको सेयर मूल्य औसतमा ५० प्रतिशतले बढिसकेको छ भने दैनिक कारोबार पनि उत्साहजन छ । लोभलाग्दो प्रगति, लाभांश क्षमता लगायत कारणले लगानीकर्ताको रोजाइमा पर्न थालेको छ ।

सेयर बजारका जानकार नेपालको स्टक मार्केटमा संस्थाको फन्डामेन्टलभन्दा डिमान्ड र सप्लाइले मूल्य निर्धारण गर्ने गरेको बताउँछन् ।

‘हाम्रो स्टक मार्केटमा फन्डामेन्टलभन्दा सप्लाइ र डिमान्डले मूल्य कायम हुने गरेको छ । स्ट्याण्डर्ड, एभरेष्ट बैंकको सेयर कम छ, कम हुने बित्तिकै माग बढी हुने र मूल्य बढ्ने गरेको देखिन्छ,’ भट्टराईले भने ।

पछिल्लो समयको ट्रेन्ड हेर्दा चार्टर्ड र एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । ठूला पूँजी भएका बैंकका तुलनामा यी बैंकको प्रगति सन्तोष्जनक छ । जसले सेयर लगानीकर्तालाई लोभ्याइरहेको छ । विगतमा सेयर बजारका हटकेक बनेका यी बैंक अब पनि हटकेक बन्लान ? त्यो भने भविष्यले नै देखाउने छ ।

बढ्दो ब्याजदर र घट्दो पर्यटकले व्यवसायी चिन्तित Read Previous

बढ्दो ब्याजदर र घट्दो पर्यटकले व्यवसायी चिन्तित

बीपीडब्ल्यू लघुवित्तको आइपीओ खुल्यो, कसले भर्न पाउँछन् ? Read Next

बीपीडब्ल्यू लघुवित्तको आइपीओ खुल्यो, कसले भर्न पाउँछन् ?