काठमाडौं । सरकारले २ दशकदेखि कायम हिमाल आरोहण शुल्क (रोयल्टी) संशोधन गर्ने तयारी गरेको छ । पर्यटन विभागले २०५९ सालदेखि कायम हिमाल आरोहण शुल्क संशोधन गर्ने तयारी गरेको हो ।
हाल २०५९ मा तोकिएको शुल्कमै हिमाल आरोहण अनुमति दिइँदै आइएको छ । पर्यटन विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले लामो समयदेखि एउटै शुल्क लिइँदै आएकले अब सशाेंधन गर्ने तयारी गर्न लागिएको बताए ।
उनले हिमाल आरोहणको शुल्क परिवर्तन गर्न विगतमा तयारी गरे पनि लागू हुन नसकेको बताए । अब फेरि सो शुल्क संशोधन गर्ने गरी छलफल चलाइएको उनले बताए ।
हिमाल आरोहण शुल्क बढाउने सरकारले तयारी गरे पनि कोरोनापछि पर्यटक घटेकाले अहिलेको शुल्क घटाउने÷बढाउने के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
‘कोभिडको कारणले हिमाल चढ्ने ठप्पै थिए, अहिले केही संख्या बढ्दै छ, धेरै रिक्स भएकाले शुल्क घटाउने कि बढाउने अझै टुंगो भएको छैन । तर, संशोधन गर्ने तयारी भने गरिएको छ,’ खतिवडाले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार सगरमाथा चढ्दा तिर्ने शुल्क बढाउन दुई पाटोबाट सोच्नु पर्ने हुन्छ । सगरमाथा चीनसँग बोडर सेयर गरेर बनेको हिमाल भएका काण नेपालले ह्वात्तै शुल्क बढाउदा पर्यटकहरू चीनतर्फ मोडिन सक्ने उनले बताए ।
‘सगरमाथाको हकमा शुल्क समायोजन गर्नु नै पर्ने भएको हो । तर, कति घटाउने कति बढाउने भन्ने विषय अझै टुंगो लागेको छैन, छलफलकै प्रकृयामा छौँ,’ खतिवडाले भने । हाल कोभिडका कारण चीनतर्फ सगरमाथा चढ्न खुल्ला गरिएको छैन ।
मस्यौदा मन्त्रालयमा पेश गरिँदै
विभागका पर्वतारोही शाखा अधिकृत विज्ञान कोइरालाले नेपालको तुलनामा चीनमा सर्भिस सस्तो रहेको छ । उनले तत्काल शुल्क संशोधन भए पनि त्यो हाल सुरू हुन नसक्ने बताए । सो सुरू गर्दा बुकिङ भइसकेको पर्यटकलाई असर पर्ने भएकाले त्यसो गर्न नहुने बताए । उनका अनुसार यो शुल्क संशोधनका लागि विभागले प्रस्ताव संस्कृति तथा पर्यटन मन्त्रालयमा प्रस्ताव पेस गर्न मस्यौदा बनाइरहेको छ ।
मन्त्रालयबाट सो मस्यौदा स्वीकृत भएर संसद पुग्न ५/६ महिना लाग्ने उनले बताए । उनले यसमा स्टक सरोकारवालाहरूको पनि सहमति चाहिने बताए ।
हिमाल चढ्न १ हजारदेखि १४ लाखसम्म शुल्क तिर्नुपर्ने, कुनको कति ?
‘आज शुल्क बढाए पनि त्यो तत्काल कार्यन्वयनमा ल्याउन सकिँदैन त्यसका लागि न्यूनतम १ वर्ष कुर्नुपर्छ,’ कोइरालाले भने ‘चाइनाले उताबाट हिमाल आरोहण खुलाएको बेलामा शुल्क बढायौँ भने झन भएका पर्यटक सबै उतै जाने छन्, त्यसैले धेरै तर्फ सोचेर निर्णय लिनु पर्छ ।’
उनका अनुसार २०२४ मा सुरू हुने गरी शुल्क संशोधन गर्ने तयारी रहेको बताए । उनका अनुसार विभागले तयार पारेको प्रस्ताव पर्यटन मन्त्रालयबाट अर्थमन्त्रालय हुँदै संसदमा जाने छ । संसदबाट पारि भएपछि मात्र उक्त शुल्क कार्यान्वयनमा ल्याइने छ ।
यस अघि २०१९/२० मा पहिलो पटक शुल्क संशोधनको तयारी भएको थियो । सो समयमा कोभिड १९ का कारण उक्त निर्णयलाई कार्यन्वयनमा ल्याउन सकिएको थिएन ।
विभागले शुल्क समायोजनाका लागि नियमावली तथा ऐन दुवै संशोधनको समेत तयारी गरिरहेको पर्वतारोही शाखा प्रमुख खतिवडाले बताए ।
‘हामी छलफलकै क्रममा छौँ, सगरमाथा पछिको अग्लो हिमाल माउन्ट केटुको बारेमा पनि कुरा उठेको छ, यसमा चाइनाले एप्लाई गरेको कुरा पनि हेछौँ,’ उनले भने ।
नेपालमा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा सहित ८५० बढी हिमालहरू रहेका छन् । विश्वमा ८ हजार मिटर माथिमा १० वटा हिमाल रहेकोमा नेपालमा मात्रै ८ वटा रहेका छन् ।