हिमाल चढ्न १ हजारदेखि १४ लाखसम्म शुल्क तिर्नुपर्ने, कुनको कति ?

काठमाडौं । नेपाललाई विश्वमा हिमालैहिमालको देश भनेर चिनिन्छ । यहाँ संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा सहित ८५० बढी हिमालहरू रहेका छन् । विश्वमा ८ हजार मिटर माथिमा १० वटा हिमाल रहेकोमा नेपालमा मात्रै ८ वटा रहेका छन् ।

हिमाल नेपाली पर्यटनको मुख्य आकर्षण हो । विश्वभरका एड्भेन्चर मन पराउने मानिसहरू लाखौं खर्च गरेर नेपालमा हिमाल चढ्न आउने गरेका छन् । नेपालीहरूले पनि हिमाल आरोहण गरेरै कयौं रेकर्ड आफ्नो नाममा लेखाउन सफल भएका छन् । हिमाल नै नेपालको प्रमुख पहिचानभन्दा फरक पर्दैन ।

हिमाल आरोहण आफैंमा साहसिक, जोखिमपूर्ण र खर्चिलो छ । नेपालका हिमाल चढ्नका लागि आवश्यक बन्दोबस्तीका सामान बाहेक नेपाल सरकारलाई छुट्टै रोयल्टी तिर्नुपर्छ । नेपालमा हिमाल चढ्न नेपाली र विदेशीका लागि फरकफरक शुल्क रहेको छ ।

पछिल्लो समय हिमाल आरोहण शुल्क बढाउने बारे छलफल भए पनि निष्कर्षमा पुगेको छैन । सरकारले २ दशकदेखि कायम शुल्कमै आरोहण अनुमति दिँदै आएको छ ।

नेपालमा सगरमाथासहित अरु हिमाल चढ्नका लागि २०५९ मा तोकिएको मूल्य हालसम्म सञ्चालनमा रहेको विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले बताए । उनका अनुसार लामो समयदेखि एउटै मूल्यमा हिमालहरूको आरोहण अनुमति दिइँदै आएको छ ।

उनले हिमाल आरोहणको मूल्यमा केही परिवर्तन ल्याउन विगतमा तयारी भए पनि त्यो स्वीकृत नहुँदा लागू हुन नसकेको बताए । हिमाल आरोहण शुल्क बढाउने सरकारले तयारी गरे पनि कोरोनापछि पर्यटक घटेकाले अहिलेको शुल्क घटाउने/बढाउने के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

‘कोभिडको कारणले हिमाल चढ्ने ठप्पै थिए, अहिले केही संख्या बढ्दै छ, धेरै रिक्स भएकाले मूल्य घटाउने कि बढाउने अझै टुंगो भएको छैन,’ खतिवडाले चाणक्य पोष्टसँग भने ‘२० वर्षदेखि यही मूल्यमा हिमाल आरोहणको काम हुँदै आएको छ ।’

हिमाल चढ्न ऋतु अनुसार शुल्क

हिमाल आरोहण सधैं गर्न पाइँदैन । मौसमी अनुकूलता अनुसार हिमाल आरोहणका लागि सरकारले अनुमति दिने गरेको छ । मध्य वर्खा र मध्य जाडो सिजनमा हिमाल आरोहण हुँदैन । वसन्त, शरद, शिशिर र वर्षा ऋतुमा हिमाल धेरै आरोहण गर्छन् ।

सरकारले पनि हिमालको उचाइ र ऋतु अनुसार शुल्क तोकेको छ । हिमाल आरोहण शुल्क सबैभन्दा धेरै पर्यटक आउने समयमा बसन्त ऋतुलाई आधार मानेर तोकिने निर्देशक खतिवडाले बताए ।

वसन्त ऋतुमा हिमाल आरोहण गर्नेले सबैभन्दा धेरै शुल्क बुझाउनु पर्ने उनले बताए । अन्य ऋतुमा वसन्त ऋतुको तुलनामा शुल्क कम हुने उनले बताए ।हिमाल आरोहणबाट नेपालले वर्षेनी करोडौं रुपैयाँ आम्दानी गर्दै आएको छ ।

नेपाली नागरिकका लागि सबैभन्दा कम १ हजार रुपैयाँ शुल्क रहेको छ भने विदेशिका लागि सबैभन्दा धेरै ११ हजार डलर (करिब १४ लाख ३० हजार रुपैयाँ) शुल्क तिर्नुपर्दछ ।

सगरमाथा चढ्न सबैभन्दा महँगो

नेपालमा रहेका हिमालमध्ये सबैभन्दा धेरै शुल्क विश्वकै अग्लो सगरमाथा आरोहण गर्दा लाग्छ । खतिवडाका अनुसार विदेशीका लागि सगरमाथाको दक्षिण पूर्वीधारको नर्मल रुटबाट आरोहण गर्ने हो भने वसन्त ऋतुमा विदेशीले ११ हजार डलर तिर्नुपर्छ ।

त्यसैगरी, शरद ऋतुमा चढ्नेका लागि ५ हजार ५०० डलर तोकिएको छ भने शिशिर र वर्षा ऋतुमा हिमाल चढ्न नसकिने र धेरै पर्यटक नआउने भएकाले २ हजार ७५० डलर मूल्य तोकिएको छ ।

त्यस्तै, सगरमाथाको दक्षिण पूर्वीधार बाहेकको रुटबाट सगरमाथा आरोहण गर्ने हो भने वसन्त ऋतुमा १० हजार डलर, शरदमा ५ हजार डलर र शिशिर र वर्षामा २ हजार ५०० डलर तोकिएको छ ।

नेपाली पर्यटकका लागि पूर्वी रुटबाट सगरमाथा चढ्न वसन्त ऋतुमा ७४ हजार रुपैयाँ तोकिएको छ । शरद ऋतुमा ३७ हजार ५०० रुपैयाँ, शिशिर र वर्षा ऋतुमा १८ हजार २५० रुपैयाँ तोकिएको छ । त्यस्तै, नेपालीका लागि दक्षिण पूर्वीधार बाहेकको रुटबाट सगरमाथा चढ्न वसन्त ऋतुमा ६० हजार, शरदमा ३० हजार, शिशिर र वर्षा ऋतुमा १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

सगरमाथा बाहेकका हिमालमा चढ्दा कति लाग्छ शुल्क ?

सगरमाथा बाहेक ८ हजार मिटर र सो भन्दा माथिका अन्य हिमालमा चढ्नका लागि छुट्टै मूल्य तोकिएको छ । सो हिमालहरूमा चढ्नका लागि विदेशी पर्यटकले वसन्त ऋतुमा १ हजार ८०० डलर तिर्नुपर्छ । शरद ऋतुमा सो हिमाल चढ्नका लागि ९०० डलर तोकिएको छ भने शिशिर र वर्षा ऋतुमा सो हिमाल चढ्न ४५० डलर रुपैयाँ व्यवस्था मिलाइएको छ ।

त्यस्तै, नेपाली पर्यटकले ८ हजार मिटर माथिका अन्य हिमालमा चढ्नका लागि छुट्टै रकम तिर्नुपर्ने हुन्छ । नेपाली पर्यटकले ८ हजार मिटर माथिका हिमाल चढ्न वसन्त ऋतुमा १० हजार, शरदमा ५ हजार रुपैयाँ, शिशिर र वर्षा ऋतुमा २ हजार ५०० रुपैयाँमै ८ हजार शुल्क लाग्ने व्यवस्था छ ।

त्यसैगरी, ७ हजार ५०१ मिटर देखि ७ हजार ९९९ मिटरसम्मका हिमाल चढ्न विदेशीले वसन्त ऋुतुमा ६०० डलर, शरदमा ३०० डलर, शिशिर र वर्षा ऋतुमा १५० डलर तिर्नुपर्छ । नेपालीका लागि वसन्त ऋतुमा ८ हजार, शरदमा ४ हजार, शिशिर र वर्षा ऋतुमा २ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, ७ हजार मिटरदेखि ७ हजार ५०० मिटर सम्मका हिमाल चढ्न विदेशीले वसन्त ऋतुमा ५०० डलर, शरदमा २५० डलर, शिशिर र वर्षा ऋतुमा १२५ डलर रुपैयाँ तिर्नुपर्छ भने नेपालीले वसन्त ऋतुमा ६ हजार, शरदमा ३ हजार, शिशिर र वर्षा ऋतुमा १ हजार ५०० रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै, ६ हजार ५०१ मिटरदेखि ६ हजार ९९९ मिटरसम्मका हिमाल चढ्न विदेशीले वसन्तमा ४०० डलर, शरदमा २००, शिशिर र वर्षा ऋतुमा १०० डलर तिर्नुपर्छ भने नेपाली नागरिकले वसन्तमा ५ हजार, शरदमा २ हजार ५००, शिशिर र वर्षा ऋतुमा १ हजार २५० रुपैयाँ तिर्नुपर्छ ।

त्यसैगरी, ६५०० मिटरभन्दा कम उचाइका हिमाल चढ्न विदेशीले वसन्त ऋतुमा २५० डलर, शरदमा १२५ डलर, शिशिर र वर्षा ऋतुमा ७० डलर तिर्नुपर्छ भने नेपालीले वसन्तमा ४ हजार, शरदमा २ हजार, शिशिर र वर्षा ऋतुमा १ हजार रुपैयाँ तिर्नुपर्छ ।

 

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग Read Next

साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग