काठमाडौं । सेयर बजारमा दोहोरो अंककाे गिरावट आएको छ । यससाता आइतबारदेखि लगातार ७० अंकले घटेर बुधबार ४ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो । यससाता नेप्से समग्रमा ८८ अंकले घटेको छ ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोडले बढेर २ अर्ब नाघेको छ ।
बिहीबार नेप्से २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा पुगेको छ । यसदिन २५७ कम्पनीको २ अर्ब ९ करोड रुपैयाँ बढीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०६ प्रतिशतले घटेको छ ।
आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया साढे ५ करोड र आइएमई जनरल इन्स्योरेन्स पौने ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज आदर्श लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
दोहोरो अंकले घटेको बजारमा आज सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५.८१ प्रतिशत गुमाएका छन् । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स ५.२९, रिडी पावर ५.१३, आइएमई जनरल, नाडेप लघुवित्त, मनकामना लघुवित्त र स्टर्न हाइड्रोपावरको सेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।