काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । निक्षेप संकलनमा सुधार हुँदा र कर्जाको माग नहुँदा तरलता सहज बन्दै गएको हो ।
गत आर्थिक वर्षदेखि नै बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभाव झेल्दै आएका छन् । चालु आवमा पनि तरलता अभावका कारण बैंकहरूले कर्जा लगानी गर्न सकेका छैनन् । अहिले प्रणालीमा लगानी योग्य रकम भए पनि कर्जाको माग नहुँदा पैसा बैंकमै थुप्रिन पुगेको छ । ब्याजदर वृद्धिले कर्जाको मागमा संकुचन आएसँगै पैसा प्रणालीमै थुप्रिन पुगेको हो ।
अहिले बैंकहरूसँग २ खर्ब बढी लगानी योग्य रकम रहेको बैंकरहरू बताउँछन् । तर, व्यवसायीले महँगो ब्याजदर तिर्न नसक्ने भन्दै नयाँ कर्जा लिएका छैनन् । ब्याजदर घटे मात्रै ऋण लिएर काम गर्न सकिने उनीहरूको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप कर्जाको अनुपात (सीडी रेसीयो) ८६ प्रतिशत झरेको छ । यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा ४ प्रतिशत कम हो । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ ।
यस्तै, पछिल्लो समय प्रणालीमा ब्याजदर समेत घट्दै गएको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशतमा झरेको छ भने निक्षेपको ब्याजदर पनि ११ प्रतिशतमा झरेको छ । तर, कर्जाको ब्याजदर नघट्दा ऋणको माग बढ्न सकेको छैन ।
अघिल्लो त्रैमासमा वृद्धि गरिएको निक्षेपको ब्याजदरले बैंकको लागत बढाउँदा आधारदर ओरालो लागेको छैन भने कर्जाको ब्याजदर झनै बढेको छ । कर्जाको माग नबढ्दा बैंकहरूको व्यवसायमै समस्या आएको छ ।
एकातिर बैंकहरूले लागत नघटेको र अर्कोतर्फ कर्जा लगानी गर्न नसक्दा बैंकहरूको आम्दानी खुम्चिएको बैंकरहरू बताउँछन् । बैंकहरूले अहिले एकातिर कर्जा विस्तार गर्न सकिरहेका छैनन् भने अर्कोतर्फ विगतमा लगानी गरेको कर्जा असुल्न समेत सकेका छैनन् । जसले बैंकको खराब कर्जा बढ्दै गएको छ । दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा दोब्बरले बढेर अैसतमा साढे २ प्रतिशत पुगेको छ ।
व्यवसायीले पनि ब्याजदर घटाउनु पर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । निजी क्षेत्रका व्यवसायीहरू लगानी आवश्यक भएपनि महंगो ब्याजदले ऋण लिन नसकिएको बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरूले १५ प्रतिशत ब्याजदरमा ऋण लिएर प्रतिफलको सुनिश्चिता विनाको जोखिम थोरैले मात्र उठाउने बताए ।
‘महंगो ब्याजले बैंकबाट ऋण लिनसक्ने अवस्था छैन । साना तथा मझौला व्यवसायीले उत्पादनका विभिन्न क्षेत्रमा लगानी गर्न खोजे पनि थोरैले मात्र जोखिम लिएर लगानी गरिरहेका छन्,’ उनले भने, ‘सरकारले उत्पादनका क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ । अहिले त्यो अवस्था छैनन्, व्यवसायीहरू पर्ख र हेरको अवस्थामा छन् ।’
कहाँ गरिरहेका छन् लगानी ?
लक्ष्य अनुसार कर्जा विस्तार गर्न नसक्दा व्यवसाय विस्तारको दबाबमा वित्तीय संस्थाहरू छन् । पूर्व बैंकर परशुराम कुँवर क्षेत्री अहिले कर्जाको डिमान्ड नहुँदा बैंकले सामान्य क्षेत्रमा मात्रै कर्जा लगानी गरिरहेको बताउँछन् ।
‘डिमान्ड नहुँदा अहिले बैंकहरूले कर्जा दिइरहेका छैनन् । निक्षेपको ब्याजदर घटाए पनि कर्जाको ब्याज महंगो छ,’ उनले भने, ‘सामान्यतया पर्यटन, उत्पादन, कृषि, हाइड्रोपावर, सेवा र व्यापारमा कर्जा गइरहेको देखिन्छ ।’
ऋणीहरूलाई महंगो ब्याजले ऋण लिएर लगानी गर्न निरुत्साहीत बनाएको उनले बताए । माघमा बैंकहरूले निक्षेपको ब्याज घटाए पनि कर्जाको ब्याजमा फरक परेको छैन । ठूलो रकमको कर्जा माग नहुँदा व्यापार, कृषि र पर्यटन क्षेत्रमा लगानी भइरहेको बैंकरहरू बताउँछन् ।
‘प्रणालीमा अहिले करिब २ खर्ब लगानीयोग्य रकम छ । तर, ठूलो रकम कर्जा माग भइरहेको छैन,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यस्तो अवस्थामा साना तथा घरेलु उद्यम गर्न चाहने व्यवसायी, कृषि, पर्यटन र हाइड्रो क्षेत्र कर्जा लगानीको प्राथमिकतामा पर्छन् जस्तो लाग्छ ।’
अब ब्याजदर घट्ने भएपछि कर्जाको माग बढ्ने उनले बताए । राष्ट्र बैंकले बैंकलाई अनिवार्य क्षेत्रगत कर्जाको सीमा निर्धारण गरेको छ । जसअनुसार बैंकहरूले लगानी गर्नुपर्छ । केही क्षेत्रमा लक्ष्यभन्दा बढी पनि कर्जा प्रवाह गरेका छन् ।
कर्जा लगानीको लक्ष्य भेट्टाउन मुस्किल
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साढे ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रतर्फ १२.६ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको थियो ।
उक्त लक्ष्य अनुसार कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्थासँग ५ खर्ब ९० अर्ब रुपैया कर्जा लगानी गर्नुपर्छ । तर, साढे ६ महिनासम्म एक खर्ब मात्र लगानी गर्न सकेको तथ्यांकले देखाउँछ ।
वित्तीय क्षेत्रका जानकारहरू बैंकहरूले कर्जा लगानीको लक्ष्य भेट्टाउन नसक्ने बताउँछन् । आर्थिक वृद्धिका लागि बैंकले गरेको कर्जा लगानी पनि हेर्ने गरिन्छ । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।
संस्थाहरूले ऋण दिन नसक्नु भनेको उत्पादनका अन्य क्षेत्रहरूमा लगानी नबढ्नु् अर्थात नयाँ गतिविधि नहुनु हो । जसले समग्र आर्थिक वृद्धिको चक्रमै असर पारेको हुन्छ । बैंकर कुँवर वित्तीय र अर्थतन्त्रका क्षेत्रमा देखिएको विभिन्न कारणहरूले बैंकको व्यवसाय खुम्चिएको बताउँछन् ।