काठमाडौं । डुइङ बिजनेश प्रतिवेदनमा नेपालले ठूलो फड्को मारेको छ । विश्व बैंकले प्रकाशन गर्ने सन् २०२० को प्रतिवेदनमा नेपालले १६ स्थानको फड्को मारेको छ ।
व्यवसाय गर्न सजिलो अथवा अप्ठ्यारो अवस्था के छ भन्ने बुझाउने डुइङ बिजनेश प्रतिवेदनमा नेपालले ९४ औं स्थान हासिल गरेको छ । विश्व बैंकले १९० वटा मुलुकमा गरेको अध्ययनमा नेपालले १०० मा ६३.२० अंक प्राप्त गरेको छ ।

गत वर्ष (सन् २०१९) को प्रतिवेदनमा नेपाल ११० औँ स्थानमा थियो । एकै वर्ष १६ स्थान सुधार गरेर नेपाल पाँच वर्ष अगाडि (सन् २०१५) कै स्थितिमा पुगेको हो । सन् २०१५ को प्रतिवेदनमा समेत नेपाल ९४औं स्थानमै थियो ।
विश्वका १९० देशहरुमा व्यवसायजन्य नियम कानूनहरूको अवस्थाम उल्लंघन गरेर हरेक वर्ष डुइङ बिजनेस प्रतिवेदन प्रकाशन गर्ने गरिन्छ ।

प्रतिवेदनमा विभिन्न १० सूचक र त्यसभित्र पनि विभिन्न उपसूचकका आधारमा व्यवसाय गर्ने वातावरण कस्तो छ भनेर तुलना गर्ने गरिन्छ ।
प्रतिवेदनका अनुसार नेपालले गत वर्षको तुलनामा निर्माणको अनुमति लिने, ऋण लिने, विदेशमा व्यापार गर्ने तथा करार कार्यान्वयन गर्ने प्रक्रियाहरुमा सुधार गरेको छ ।
प्रतिवेदन अनुसार नेपालको व्यवसाय सुरु गर्ने र सम्पत्तिको दर्ता गर्ने प्रक्रिया अझै खराब भएको उल्लेख गरेको छ । बिजुली जोडने, अल्पसंख्याक लगानीकर्ताको संरक्षण गर्ने, कर तिर्ने र टाट पल्टेको समस्या समाधान गर्ने सम्बन्धी व्यवस्थामा भने कुनै परिवर्तन नभएको प्रतिवेदनले उल्लेख गरेको छ ।

विश्व बैंकले प्रकाशित गर्ने ‘डुइङ बिजनेस’ प्रतिवेदनका आधारमा न्युजील्याण्ड एक सयमा ८६.८ अंकको साथ शीर्ष नम्बरमा रहेको छ ।
यसैगरि २० अंकको साथ सोमालिया सबैभन्दा पुच्छार १९० औं देशमा रहेको छ। सिङ्गापुर, हङ्गकङ, डेनमार्क, दक्षिण कारिया, अमेरिका, जर्जिया, बेलायत र नर्वे शीर्ष दश देशभित्र समेटिएका छन्।
विश्वका दश देशहरु साउदी अरेबिया, जोर्डन, टोगो,बहराइन, ताजकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत, र नाइजेरिया उल्लेखनीय रुपमा वृद्धि गर्ने देशहरुमा परेका छन्। ११५ देशहरुले आफ्नो लगानीको वातावरण अवस्थामा सुधार गरेका छन्।