काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १३ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ९२ लाख रुपैयाँ बराबरको १९ लाख ९२ हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक, तिनका शाखा कार्यालय र ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि कुल १० लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख २० हजार कित्ता र कर्मचारीका लागि ४८ हजार कित्ता सेयर निष्काशन गरिसकेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई ईक्रा नेपालले ‘इक्राएन्पी आईआर बीबी माइनस ’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन क्षमता औसतमा जोखिम रहेको जनाउँदछ ।
कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।