काठमाडौं । प्रभु बैंकले शाखा संचालनका लागि ६५ ठाउँमा घर भाडामा खोजेको छ । हालै सेञ्चुरी कमर्शियल बैंकलाई गाभेको प्रभुले देशभरका विभिन्न ६५ ठाउँमा शाखा संचालनका लागि घर खोजेको हो ।
बैंकले सातै प्रदेशका व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनमा ल्याउने भएको हो । बैंकले एक सूचना प्रकाशित गर्दै शाखा कार्यालय राख्नका लागि कम्तीमा २ हजार वर्गफिट क्षेत्रफलको घर भाडामा लिने भएको हो । साथै, भुइँ तल्लामा एटीएम राख्न मिल्ने ठाउँ हुनुपर्ने बैंकले जनाएको छ ।
बैंकको शाखा राख्न घर भाडामा दिन चाहने घरधनीले माघ मसान्तभित्र बैंकको प्रधान कार्यालय, संजाल विस्तार विभाग र सातै प्रादेशिक कार्यालयमा निवेदन दिन आह्वान गरेको छ ।
बैंकलाई भाडामा दिने घर दोहोरो मोटर आवतजावत गर्ने सडक भएको, पार्किङ, पानी बिजुली सुविधा भएको, भूकम्प प्रतिरोधी हुनुपर्ने छ । साथै, कम्तीमा १० वर्षका लागि भाडामा दिनुपर्नेछ ।