किवीबाट जाम र जुस उत्पादन सुरू

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किवीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किवीको जाम उत्पादन गर्न थालेका हुन् ।

उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिए । ‘परीक्षण चरणमै रहेको जामले राम्रो बजार मूल्य पाएको छ,’ उनले भने, ‘पहिलो चरणमा पाँच सय ग्रामको रु तीन सय र सात सय ग्रामको रु चार सयमा बिक्री गर्ने गरिएको छ ।’

जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्यान्न उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्चालन गरिएको जनाइएको छ । किवी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य पदार्थ उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको समितिका सचिव कविकुमार राईले जानकारी दिए ।

गत मङ्सिर २० गते घरेलु तथा साना उद्योग कार्यालय खोटाङबाट स्वीकृति लिएको फलफूल प्रशोधन उद्योगमा रु २५ लाख बढी लगानी हुने जनाइएको छ । सुरुआती चरणमा रु पाँच लाख लगानीमा उपकरण खरिद गरेर उद्योग स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिए ।

जिल्लामै पहिलोपटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषक हर्षित भएका छन् । आफूले उत्पादन गरेका किवी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूल खेर नजाने भएपछि कृषक हर्षित भएका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ । प्रशोधन उद्योग अभावमा जिल्लाका कृषकले उत्पादन गरेका फलफूल यसअघिसम्म बिना उपयोग खेर जाने गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय सबैभन्दा बढी किवी उत्पादन हुन थालेको छ । केही वर्षअघिदेखि मात्र उत्पादन हुन थालेको किवी अहिले प्रति केजी रु २५० मा फार्मबाटै जिल्ला बिक्री हुँदै आएको छ ।

जिल्लाका कृषकले उत्पादन गरेका किवी बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित किवी पूर्वी तराई तथा राजधानी काठमाडौंमा सबैभन्दा बढी निर्यात हुने गरेको कृषकले बताएका छन् ।रासस

 

सिनर्जी पावरले पायो हकप्रद जारी गर्न अनुमति Read Previous

सिनर्जी पावरले पायो हकप्रद जारी गर्न अनुमति

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन Read Next

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन