अर्थ मन्त्रालयले थाल्यो बजेटको अर्धवार्षिक समीक्षाको तयारी, समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ ।

मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार समितिले गत पुस मसान्तसम्मको बजेट समीक्षाको प्रतिवेदन पेश गर्नुपर्नेछ । समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले चालु आवको बजेटको समीक्षा गर्नेछ ।

बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्यको नेतृत्वमा नेपाल राष्ट्र बैंक, योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनकि ऋण व्यवस्थापन कार्यालयबाट एक/एक जना प्रतिनिधि, अर्थमन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका सबै उपसचिव सदस्य रहेका छन् ।

मन्त्रालयअन्तर्गतका विभिन्न शाखाका आठरआठ जना सहसचिव र उपसचिव उक्त समितिको सदस्य रहेका छन् । सरकारले चालु आवका लागि रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको थियो ।

जसमा कुल विनियोजनमध्ये चालुतर्फ रू ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ रू ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रू ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुट्याइएको छ ।

अनुमान गरिएको खर्चको स्रोत बेहोर्न आन्तरिक राजस्वबाट रू १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट रू ५५ अर्ब ११ करोड, वैदेशिक ऋणबाट रू २ खर्ब ४२ खर्ब २६ करोड र रू २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल रू ४ खर्ब ९८ अर्ब ४६ करोड बराबर ऋण लिइने उल्लेख छ ।

गत आर्थिक वर्षमा रू १६ खर्ब ३२ अर्ब ८३ करोड बराबरको बजेट विनियोजन गरिएकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४६ अर्ब २८ करोड बराबरको बनाइएको थियो ।

रेमिट्यान्स कम्पनीको चुक्ता पूँजी ५ गुणाले वृद्धि, मर्जरको बाटो खुला Read Previous

रेमिट्यान्स कम्पनीको चुक्ता पूँजी ५ गुणाले वृद्धि, मर्जरको बाटो खुला

प्रतिवेदन सार्वजनिक भएपछि एकैदिनमा अदानीको १४ खर्ब स्वाहा ! Read Next

प्रतिवेदन सार्वजनिक भएपछि एकैदिनमा अदानीको १४ खर्ब स्वाहा !