काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकको निष्क्रिय (खराब) कर्जा दोब्बरले बढेको छ । लगानी गरेको कर्जा समयमै असुल हुन नसकेपछि बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूको खराब कर्जा औसतमा १.१० प्रतिशत रहेकोमा चालु आवको सोही अवधि आइपुग्दा दोब्बरभन्दा धेरैले बढेर अैसतमा २.३१ प्रतिशत पुगेको हो ।
समीक्षा अवधिमा बैंकहरूले ४६ खर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । यस आधारमा औसतमा एउटा बैंकको खराब कर्जा १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।
चालु वर्षको पहिलो त्रैमासदेखि नै बैंकहरूले कर्जा असुली गर्न सकेका छैनन् । चालु वर्षको पहिलो त्रैमासमा पनि बैंकहरूको खराब कर्जा ०.६२ प्रतिशतले बढेको थियो ।
चालु आवकाे दोस्रो त्रैमासमा बैंकहरूले खुद नाफा औसतमा ११ प्रतिशतले बढाए पनि खराब कर्जा भने ह्वात्तै बढेको हो । वित्तीय प्रणालीमा तरलता अभावका कारण बैंकहरूले चालु वर्षको सुरुआतदेखि नै कर्जा विस्तार गर्न सकेका छैनन् । तर, अर्थतन्त्रमा आएको मन्दी र ब्याजदर वृद्धिले गर्दा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । जसकारण व्यवसायीले विगतमा लिएको ऋण समेत तिर्न नसक्दा बैंकहरूको खराब कर्जा दोब्बरले बढेको हो ।
अहिले बैंकहरूको आधारदर नै औसतमा ११ प्रतिशत हाराहारीमा छ भने कर्जाको ब्याजदर १८ प्रतिशतसम्म रहेको छ । एकातिर व्यापार, व्यवसायमा मन्दी हुनु र अर्कोतर्फ उच्च ब्याजदर वृद्धिको असर ऋणीको कर्जा तिर्ने क्षमतामा परेको छ ।
खराब कर्जा बढ्दा बैंकहरूको नाफा समेत प्रभावित हुने गर्दछ । खराब कर्जामा परिणत भएको रकम बैंकहरूले आफ्नो नाफाबाट प्रोभिजन गर्नुपर्ने हुन्छ । जसकारण नाफामा ठूलो असर पर्दछ ।
बैंकहरूको ब्याजदर वृद्धिले आधारदर नै ११ प्रतिशत माथि पुगेको छ । उच्च ब्याजदरले ऋणीहरू समस्यामा परेका छन् । जसको कारण समयमै कर्जा भुक्तानी गर्न नसक्दा बैंकको नाफामा समेत असर परेको छ ।

बैंकको वित्तीय स्वास्थ्य थाहा पाउन खराब कर्जा हेर्ने गरिन्छ । वित्तीय संस्थाको लगानी कति जोखिममा छ भन्ने जानकारीका लागि त्यो संस्थाको खराब कर्जा कति छ भनेर हेरिन्छ । बैंक तथा वित्तीय संस्था आर्थिक मजबुतिको लागि खराब कर्जा नियन्त्रण गर्ने प्रयास संस्थाहरूले गर्छन् । यद्यपि, कतिपय क्षेत्रमा गरिएको लगानीको प्रतिफल नआउन पनि सक्छ जसको कारण बैंकको व्यवसाय विस्तार र नाफामा संकूचन आउँछ ।
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी भए त्यसलाई जोखिमयुक्त मानिन्छ । खराब कर्जा सीमाभन्दा माथि पुगे त्यो संस्थाको व्यवस्थापनमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप समेत गर्न सक्नेछ ।
कुन बैंकको कति छ खराब कर्जा ?
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विरण अनुसार यस अवधिमा राष्ट्रिय वाणिज्य बैंक बाहेक अरु सबैको खराब कर्जा बढेको छ ।
समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले खराब कर्जा ३.०६ प्रतिशबाट २.७९ प्रतिशतमा झार्न सफल भएको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा सरकारी स्वामित्वकै कृषि विकास बैंकको रहेको छ । कृषि विकासको खराब कर्जा गत वर्षको तुलनामा दोब्बरले बढेर ४.५२ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा वृद्धि प्रतिशतका आधारमा भने सिद्धार्थ बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको छ । गत वर्ष ०.३७ प्रतिशत रहेको सिद्धार्थको खराब कर्जा ६७५ प्रतिशतले बढेर २.८७ प्रतिशत पुगेको छ ।
दोस्रो त्रैमाससम्म ४ बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा बढी रहेको छ । जसमा हिमालयन बैंक ३.७७, नेपाल इन्भेष्टमेन्ट मेगा ३.३१, सनराइज ३.३६ र नेपाल बैंकको ३.११ प्रतिशत रहेको छ ।
यसैगरी, सिटिजन बैंक, नबिल, ग्लोबल आइएमई, सिद्धार्थ, प्राइम, राष्ट्रि वाणिज्य, सिभिल र एनएमबी बैंकको खराब कर्जा २ देखि ३ प्रतिशतको बीचमा रहेको छ ।
यस्तै, प्रभु, लक्ष्मी र माछापुच्छ्रे बैंकको १ प्रतिशत बढी छ भने सबैभन्दा कम नेपाल एसबीआई बैंकको ०.४७ प्रतिशत खराब कर्जा रहेको छ । यसैगरी, एभरेष्ट ०.५५, एनआइसी ०.६१, स्ट्यान्डार्ड चार्टड ०.७२ र सानिमा बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ ।