काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले नेपालमा विमानअनुसार दक्ष इन्जिनीयरको अभाव रहेको बताएका छन् ।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘नाफिज संवाद’मा क्षेत्रीले दक्ष एरोनोटिकल इन्जिनीयर पर्याप्त नहुँदा विमानको नियमित चेक जाँचमा त्रुटी हुन सक्ने बताएका हुन् ।
मुलुकभर एयरलाइन्सको संख्या बढ्दै गए पनि यससँग सम्बन्धित विज्ञ इन्जिनीयरको अभाव रहेको उनको भनाइ छ । यसका लागि दक्ष जनशक्ति बढाउनुपर्ने उनी बताउँछन् ।
‘एटीआर जहाजको एरोनोटिकल इन्जिनीयरले हेलिकप्टरको समेत नियमन गर्नुपर्ने अवस्था छ,’ उनले भने,‘एउटा जहाजको विज्ञले अर्को जहाजको सबै थाहा पाउन सक्दैन । एरोनोटिकल इन्जिनीयर थप गर्नुपर्छ ।’
त्यस्तै हवाई क्षेत्रको नियमन कडाई गर्न सेवा प्रदायक र नियामक छुट्ट्याउनु पर्ने उनले बताए । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी टुक्राउने विधेयक अघि बढाएको र यसले पूर्णता पाउनु पर्ने उनले बताए । तर युरोपेली संघले भनेको जसरी हेपिएर भने काम गर्न नहुने क्षेत्रीको भनाइ छ ।
‘युरोपेली संघ (इयु) ले नेपालको नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालोसूचीमा राखेको छ । अहिलेसम्म नेपाली एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध कायमै छ,’ क्षेत्रीले भने ‘अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको प्रतिवेदन दिदाँ पनि इयुले नदिनुमा नेपाललाई हेपेको हो ।’
आईकाओको विश्व औसत परिपालना दर ६७.२ प्रतिशत हो । नेपालले अहिले ७०.८ प्रतिशत अंक पाइसकेको छ । तर पनि ईयुले नेपाललाई कालो सूचीबाट हटाउन नचाहिरहेको क्षेत्रीले बताए ।
‘म आफैं महानिर्देशक हुँदा प्राधिकरण जबसम्म टुक्रिदैन तबसम्म ब्ल्याक लिष्टबाट हटाउँदैनौ भनेका थिए’, उनी भन्छन्, ‘इयुले भनेकै कारणले प्राधिकरणलाई दुइटा निकाय बनाउनुपर्छ भन्ने छैन । तर अहिलेकै अवस्थामा विमान कम्पनी र विमानस्थलको नियमन कडाई गर्न अप्ठयारो छ । ’
हवाइ विज्ञसमेत रहेका क्षेत्रीले विश्वका धेरै मुलुकहरुमा हवाई सुरक्षा र व्यवस्थापकीय तथा नियामकीय भूमिकामा छुट्टाछुट्टै संगठन हुने बताए । नेपालले पनि उड्डयन क्षेत्रलाई सुक्षित बनाउनका लागि यो अभ्यासमा जानुपर्ने उनको भनाइ छ ।