काठमाडौं । स्थापना भएको १५ वर्षमा भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)का आधा प्लट भरिएका छन् । हालै सेजमा ८ वटा कम्पनी थपिएसँगै आधा बढी प्लट भरिएका हुन् ।
भैरहवा विशेष आर्थिक क्षेत्र कार्यालयका अनुसार ६७ वटा प्लट मध्ये हालसम्म ३७ वटा प्लट उद्योगीले लिएका हुन् । यो कुल प्लटको ५५ प्रतिशत हो ।
भैरहवा सेजका उद्योग तर्फका इन्जिनीयर सागर सिलवालले हालै ८ वटा कम्पनीसँग उद्योग स्थापनाका लागि सम्झौता भएको बताए । उनका अनुसार सेजमा उद्योग स्थापनाका लागि २४ उद्योगले आवेदन दिएको भए पनि ८ वटाले मात्र सम्झौता गरेका छन् ।
‘हामीले सेजमा उद्योग स्थापनाका लागि कात्तिकमा आवेदन आह्वान गरेका थियौं । जसमा २४ उद्योगले आवेदन दिएका थिए,’ उनले चाणक्य पोष्टसँग भने, ‘ती मध्ये हालै ८ उद्योगसँग सम्झौता गरिएको छ ।’ आवेदन दिएका अरु उद्योग भने सम्झौता गर्न नआएको उनको भनाइ छ ।
उनका अनुसार सम्झौता भएका उद्योगहरूमा बबई एग्रो ट्रेड कन्सर्न, अरुण खोला बहुउद्देश्य उद्योग, लार्के हिमाल जडिबुटी उद्योग, मेटल रिसाइक्लिङ उद्योग, बबई एग्रो मिसान सेक जडिबुटी, आरसी इन्डष्ट्री, हिमालय ग्रीनेड इन्डिष्ट्र र वाइट माउन्टन माइनिङ उद्योग रहेका छन् ।
उनले ८ उद्योगले १६ प्लट लिएको बताए । उनका अनुसार सेजमा आएका ८ नयाँ उद्योगले १ अर्ब २९ करोड रुपैयाँ लगानी गरी उद्योग संचालनमा ल्याउने छन् । सम्झौता गरेको डेढ वर्षभित्र उद्योग स्थापना गरी सञ्चालनमा गरिसक्नुपर्छ ।
सरकारले देशमा निर्यात व्यापार बढाउने, रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्देश्य सहित पाइलट परियोजनको रूपमा सुरू भैरहवा विशेष आर्थिक क्षेत्र स्थपना गरेको थियो ।
सरकारले १५ माघ २०६० मा विशेष आर्थिक क्षेत्र आयोजना स्थापना गर्ने निर्णय गरेको थियो । विशेष आर्थिक क्षेत्र ऐन २०७३ अनुसार १८ असोज २०७३ मा प्राधिकरण स्थापना भएको थियो ।
कुन उद्योगले कति लगानी गर्दैछन् ?
भैरहवा सेजमा आएका ८ नयाँ उद्योगले १ अर्ब २९ करोड लगानी गर्ने भएका हुन् । सिलवालका अनुसार अनुसार बबई एग्रो ट्रेड कन्सर्नले ११ करोड, अरुण खोला बहुउद्देश्य उद्योगले ४४ करोड, लार्के हिमाल जडिबुटी उद्योगले ९ करोड लगानी गरी उद्योग स्थानिा गर्न लागेका हुन् ।
त्यसैगरी, मेटल रिसाइक्लिङ उद्योगले १० करोड, वाइट माइनिङ इन्डष्ट्रिले २२ करोड, मिसान सेक जडिबुटिले १४ करोड, र हिमालयन ग्रीनेडले १९ करोड लगानीमा उद्योग सञ्चालनमा गर्ने भएको हो ।
सेजभित्र सञ्चालनमा आउने उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगले एक वर्षदेखि दुई वर्षभित्र विदेश निकासी गर्ने सम्झौता गरेका छन् ।
हाल सेजमा स्थापना भइसकेका ७ उद्योगले वार्षिक ५० करोड रुपैयाँ बराबरको निकासी गरेका छन् । सेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक १२ अर्ब रुपियाँको निकासी हुने अनुमान गरिएको छ ।
थप उद्योग आउँदै
सिललवाले भेरहवा सेजका बाँकी रहेका ३० वटा प्लटका लागि फेरि आवेदन आह्वान गरिएको बताए । त्यसमा ७ वटा कम्पनीहरूले इच्छा व्यक्त गरेको उनले बताए । ती कम्पनीको प्रस्ताव हाल मूल्यांकनको चरणमा रहेका छन् ।
‘पहिला निकालेको आवेदनबाट हामीले ८ वटा उद्योगसँग सम्झौता गरी सञ्चालनका लागि निर्माणको काम सुरू गरिसकेको छ, फेरि अर्को आवेदन निकालेका छौँ त्यसमा पनि ५/७ वटा उद्योग आएका छन्, अहिले मूल्यांक्नको चरणमा छ,’ सिलवलले चाणक्य पोष्टसँग भने ।