तारकेश्वरमा उच्च क्षमताको सबस्टेशन बनाउँदै प्राधिकरण, ३० वर्षसम्मको लोड धान्ने

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सबस्टेशन निर्माण गर्ने भएको छ ।

नियमित रुपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रुपमा हुने विद्युत् विच्छेद जस्ता अवरोधलाई समेत न्यूनीकरण गर्न उक्त सबस्टेशन निर्माण गर्न लागिएको हो ।

प्राधिकरणले आगामी ३० वर्षसम्मको काठमाडौं उपत्यकाभित्रको बिजुलीको मागलाई सहजतापूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौंमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताए ।

यस्तै उनले नदी किनारै किनार एक सय ३२ केभी क्षमताका प्रसारण लाइन बनाउने घोषणा गरिसकेको छ । सोही क्रममा काठमाडौँ उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो तथा गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सबस्टेशन निर्माण गर्न लागिएको हो । प्रसारण पूर्वाधार तथा सबस्टेशनको अभावमा काठमाडौँमा बाध्यकारी रुपमा लोडसेडिङ हुनसक्ने अवस्थाको सिर्जना भएको प्राधिकरणको भनाइ छ ।

उपत्यकाभित्र कुल ६६ केभीदेखि २२० केभी क्षमताका प्रसारण लाइन तथा सबस्टेशन निर्माण गर्नुपर्ने प्राधिकरणको भनाइ छ । यस्तै विद्यमान प्रसारण लाइन तथा सबस्टशेनको संरचनागत सुधार, स्तरोन्नति एवम् विस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको छ ।

यही क्रममा साविकको जितपुरफेदी गाविसको वडा नं ५ र गोलढुङ्गा गाविसको वडा नं ३ मा २२०/१३२/६६/११ केभी क्षमताको सबस्टेशन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सो सबस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिमा प्राधिकरणले आज सूचना प्रकाशित गरेको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा नौ अनुसार कुल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

 

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, अब राजस्व तिर्दा भौचर भर्न नपर्ने Read Previous

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, अब राजस्व तिर्दा भौचर भर्न नपर्ने

१५६ हाइड्रोपावरको लाइसेन्स खारेजी, कुन कति मेगावाटको ? (सूचीसहित) Read Next

१५६ हाइड्रोपावरको लाइसेन्स खारेजी, कुन कति मेगावाटको ? (सूचीसहित)