यस वर्ष माछा उत्पादन घट्ने, बजारमा अभाव हुने

काठमाडौं । मुलुक माछामा आत्मनिर्भर भनिए पनि मागको २० प्रतिशत बढी आयात गरिँदै आइएको छ । नेपालमा माग अनुसार माछा उत्पादन हुन नसक्दा अझै पनि आयात गर्नुपर्ने अवस्था छ ।

दैनिक करिब ३ लाख केजी माछा माग हुने भए पनि नेपाली उत्पादनले ८० प्रतिशत मात्रै माग धान्दै आएको छ । यस वर्ष उत्पादन झनै घट्ने व्यवसायीहरू बताउँछन् । गत वर्ष कृषकले उत्पादन गरेको माछा विक्री नभएकाले उनीहरूले यसपाली सिजनमा भुरा नहाल्दा उत्पादनमा ठूलो गिरावट आउने भएको हो । जसकारण ६ महिनापछि बजारमा माछा अभाव हुने उनीहरूको भनाइ छ ।

नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले यो वर्ष माछाका भुरा राख्न नपाएकाले ६ महिनापछि बजारमा माछा अभाव हुने बताए । उनले गत १ वर्षमा उत्पादन भएको माछा विक्री हुन नसकेका कारण नयाँ भुरा थप्न नपाएको र त्यसले गर्दा अबको ६ महिनापछि बजारमा माछा अभाव हुने बताए ।

‘बजारमा माछाको माग धेरै छ तर, हामीले अहिले त्यसको ८० प्रतिशत मात्र उत्पादन गर्न सकेका छौँ । गत वर्षको उत्पादन विक्री हुन सकेको छैन, त्यसले गर्दा नयाँ भुरा माछा थप्न पनि पाएको छैनौँ,’ अध्यक्ष अधिकारीले चाणक्य पोष्टसँग भने, ‘आगामी दिनमा बजारमा माछाको अभाव हुने र विदेशबाट आयात गर्नुपर्ने अवस्था आउँछ ।’

गत वर्ष माछा विक्री नहुँदा कृषकले ठूलो घाटा व्यहोरेकाले यस वर्ष उत्पादन नगरको उनको भनाइ छ । माछापालक कृषक व्यवसायबाटै पलायन हुने अवस्था आएको उनले बताए ।

माछा उत्पादनको लागत बढ्दै गएकाले पनि कृषकहरू यस पेशाबाट पलायन हुन थालेको उनले बताए । माछाको बजार मूल्य र लागत लगभग बराबर भएकाले कृषकलाई फाइदा नभएको उनले बताए । उनका अनुसार हाल बजारमा माछाको मूल्य प्रतिकेजी २२० रुपैयाँदेखि ३५० रुपैयाँ रहेको छ । त्यसको ६० देखि ७० प्रतिशत दानामा, १० प्रतिशत बिजुलीमा खर्च हुने उनले बताए । अन्य खर्च र श्रम जोड्दा लागत उठाउन पनि मुस्किल हुने उनले बताए ।

उनले सरकारले दानामा अनुदान र विद्युत्को पैसा मिनाह गर्ने हो भने माछा उत्पादक किसानको स्तर विकास हुन सक्ने बताए । भारत सरकारले माछा उत्पादक कृषकलाई दानामा अनुदान, बिजुलीमा सहुलियत लगायत सुविधा दिँदै आएको छ । यसले गर्दा भारतबाट आएको माछा नेपालको तुलनामा ३० रुपैयाँ सस्तो पर्ने गर्छ ।

१ लाख कृषक आबद्ध 

देशभर १ लाख मानिसहरूले माछा उत्पादनको व्यवसाय गरेका छन् । प्रत्यक्ष रुपमा ५० लाखले रोजगार पाएको उनले बताए । उनका अनुसार माछा पालनमा सरकारले अनुदान अथवा बिजुली निःशुल्क उपलब्ध नगराउने हो भने आगामी समयमा माछा व्यवसायी अन्यत्र पलायन हुन सक्ने देखिन्छ ।

हाल जिउँदा माछा आयातमा कडाइ गरिएका कारण कमै आयात हुने गरेका छन् । तर, माछा व्यवसायीले चोरी निकासी गरी माछा ल्याउने गरेका कारण यसले माछाको २० प्रतिशत क्षेत्रमा असर पारेको उनले बताए ।

यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने माछा उत्पादन लक्ष्यभन्दा बढी उत्पादन भइरहेको जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा माछाको उत्पादन वर्षेनी १ लाख ४ हजार ६२३ मेट्रिकटन रहेको छ । कृषि मन्त्रालयले २०७९/८० मा माछा उत्पादन लक्ष्य ५ प्रतिशत राखेकोमा ५.४ प्रतिशत लक्ष्य हासिल गरेको जनाएको छ ।

चोरीनिकासी रोक्न आवश्यक

चालु आर्थिक वर्षमा ४७ लाख ९६ हजार रुपैयाँ बराबरको ४ हजार ५२२ केजी जिउँदो माछा आयात भएको छ । भन्सारबाट आयात हुने माछाको संख्या न्यून देखिए पनि चोरी निकासी गरी माछा आयाता भइरहेको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार बजारमा चोरिनिकासीबाट भन्सार नतिरी आएका माछाले नेपाली उत्पादनको बजारको केही हिस्सा ओगटेको छ । यसलाई विस्थापन गर्न सरकारले भन्सारमा कडाइ गर्नुपर्ने उनले बताए ।

‘माछा आयात कम छ तर अझै पनि चोरी निकासीको माध्यमबाट माछा धेरै नेपाल भित्रिने गरेको छ,’ अधिकारीले भने ‘आयात माछा विभिन्न केमिकल प्रयोग गरी धेरै दिन राखेकाले खान योग्य हुन्न । तर त्यो नेपालको भन्दा २०/३० रुपैयाँ सस्तो पर्छ र उपभोक्ता त्यही किन्ने गर्छन् ।’

उनले नेपाली माछा र भारतीय माछा छुटाउन सक्ने कुनै विधि नभएकाले त्यसमा सजह भई आफ्नै उत्पादन उपभोग गर्न आग्रह गरे । चितवनमा उत्पादन भएको नेपाली माछा १२ घण्टामा जुनसुकै बजारमा पुग्ने भएकाले नेपालकै उत्पादन खान स्वस्थ हुने उनले बताए ।

 

जीर्ण बन्यो सिद्धार्थ राजमार्ग, वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा Read Previous

जीर्ण बन्यो सिद्धार्थ राजमार्ग, वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन Read Next

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन