
काठमाडौं । तिहारमा प्रयोग गरिने भाइमसलाको आयात यो वर्ष ह्वातै बढेको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष भाइमसलाको आयात ८७ प्रतिशतले बढेको हो । तिहारका लागि आयात गरिने भाइमसला ६८ करोड ७९ लाख रुपैयाँले बढेको भन्सार विभागले जनाएको छ ।
चालू आर्थिक वर्षमा १ अर्ब ४८ करोड रकम बराबरको भाइमसला आयात भएको छ । चालू आर्थिक वर्षको भदौसम्ममा सो रकम बराबरको १ करोड ३४ लाख केजी भइमसला आयात भएको हो । भाइमसला आयातका क्रममा ४२ करोड २७ लाख रुपैयाँ राजश्व असुली भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०७५/७६ को भदौ मसान्तसम्ममा ७९ करोड ३३ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको थियो । ७२ लाख ८२ हजार केजी भाइमसला आयात हुने क्रममा २३ करोड ९० लाख रुपैयाँ राजश्व असुल भएको थियो । भाइमसला आयातको परिमाण बढेसँगै नेपालबाट बाहिरिने रकम पनि बढेको छ ।
गत आर्थिक वर्षमा कूल ५ अर्ब १७ करोड ५९ लाख रुपैयाँ बराबरको भाइमसला सामग्री आयात भएको थियो । सो वर्ष ५ करोड केजी भाइमसला आयातका क्रममा १ अर्ब ४५ करोड रकम राजश्व संकलन भएको थियो ।
११ करोडको नरिवल आयात
चालू आर्थिक वर्षको भदौसम्ममा ११ करोड ५४ लाख ७८ हजार रुपैयाँको नरिवल आयात भएको छ । १५ लाख ८२ हजार केजी नरिवल आयातका क्रममा २ करोड ४८ लाख रुपैयाँ राजश्व असुल भएको भन्सारले जनाएको छ ।
गत आर्थिक वर्षको भदौमा १० करोड ४५ लाख रुपैयाँ बराबरको नरिवल आयात भएको थियो । नरिवल आयात गत आवको २ महिनाको तुलनामा १ करोडले बढेको हो । गत आवमा नरिवल आयातका क्रममा कूल ५९ करोड ९३ लाख ८४ हजार रुपैयाँ बाहिरिएको थियो ।
१६ करोडको काजु आयात
चालू आर्थिक वर्षमा काजु आयात गर्ने क्रममा १६ करोड ३ लाख १७ हजार रुपैयाँ बाहिरिएको छ । चालू आवमा १ लाख ९६ हजार केजी काजु आयात हुँदा ४ करोड ७९ लाख रुपैयाँ राजशव असुल भएको थियो ।
गत आवको भदौसम्ममा १६ करोड ३० लाख रुपैयाँ बराबरको काजु आयात भएको थियो । १ लाख ८४ हजार केजी काजु आयातका क्रममा ४ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।गत आर्थिक वर्षमा काजु आयातका क्रममा ७८ करोड ३९ लाख ५७ हजार रुपैयाँ बाहिरिएको थियो ।
१४ करोड ४३ लाखको बदाम आयात
चालू आर्थिक वर्षको भदौ महिनासम्ममा १४ करोड ४३ लाख २५ हजार रुपैयाँ बराबरको बदाम आयात भएको छ । १ लाख ७३ हजार केजी बदाम आयातका क्रममा ३ करोड ५१ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सारले जनाएको छ ।
गत आर्थिक वर्षको भदौसम्ममा ६ करोड १५ लाख रुपैयाँ बराबरको बदाम आयात भएको थियो । ७३ हजार ५ सय केजी बदाम आयातका क्रममा १ करोड ५१ लाख रुपैयाँ राजश्व असुल भएको थियो ।
गत आर्थिक वर्षमा बदाम आयातका क्रममा कूल ५५ करोड १३ लाख रुपैयाँ बाहिरिएको थियो ।
ओखर आयात ५ गुणाले बढ्यो
चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा ५ गुणाले बढि ओखर आयात भएको छ । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ११ करोड १९ लाख रुपैयाँ बराबरको ओखर आयात भएको छ । ३ लाख ५७ हजार केजी ओखर आयातका क्रममा ३ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
गत आर्थिक वर्षको २ महिनामा २ करोड ७८ लाख रुपैयाँ बराबरको ओखर आयात भएको थियो । १ लाख ९ हजार केजी ओखर आयातका क्रममा ९१ लाख २४ हजार रुपैयाँ राजशव असुल भएको थियो ।
गत आर्थिक वर्षमा ओखर आयातका क्रममा कूल २१ करोड ७८ लाख रुपैयाँ बाहिरिएको थियो ।
गत वर्षको तुलनामा दोब्बर पिस्ता आयात
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा दोब्बर पिस्ता आयात भएको छ । चालू आवको भदौसम्ममा ४ लाख ५५ हजार रुपैयाँ बराबरको पिस्ता आयात भएको छ । ४ सय ४ केजी पिस्ता आयातका क्रममा १ लाख ३९ करोड रुपैयाँ राजश्व संकलन भएको भनसारले जनाएको छ ।
गत आर्थिक वर्षको भदौसम्ममा २ लाख १९ हजार रुपैयाँ बराबरको पिस्ता आयात भएको छ । गत आर्थिक वर्षमा कूल ४८ लाख ७ हजार रुपैयाँको पिस्ता आयात भएको थियो ।
किसमिस आयात घट्यो
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा किसमिस आयात घटेको छ । चालू आर्थिक वर्षको भदौसम्ममा १ करोड ९६ लाख ५६ हजार रुपैयाँको किसमिस आयात भएको छ । गत आर्थिक वर्षको भदौसम्ममा २ करोड ९६ लाख ७७ हजार रुपैयाँको किसमिस आयात भएको थियो ।
चालू आर्थिक वर्षका दुई महिनामा २ लाख ९० केजी किसमिस आयातका क्रममा ७१ लाख ६५ हजार रुपैयाँ राजश्व असुल भएको हो । गत आवको भदौसम्ममा १ लाख ५२ हजार केजी किसमिस आयातका क्रममा १ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
गत आवमा किसमिस आयातका क्रममा १८ करोड ७२ लाख २६ हजार रुपैयाँ बाहिरिएको थियो । गत आवमा कूल ७ लाख ३३ हजार केजी किसमिस आयातका क्रममा ६ करोड ८६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
४६ करोडले छोकडा आयात बढ्यो
चालू आर्थिक वर्षमा छोकडा आयात ह्वातै बढेको छ । गत आवको तुलनामा यो आवमा ४६ करोड ८३ लाख रुपैयाँ बढिको छोकडा आयात भएको हो ।
चालू आवको भदौसम्ममा ४८ करोड २८ लाख रुपैयाँ बराबरको छोकडा आयात भएको छ । ५६ लाख ६७ हजार केजी छोकडा आयातका क्रममा १३ करोड ६५ लाख रुपैयाँ राजश्व असुल भएको थियो ।
गत आर्थिक वर्षको भदौसम्ममा १ करोड ४५ लाख रुपैयाँ बराबरको छोकडा आयात भएको थियो १ लाख ७४ केजी छोकडा आयातको क्रममा ४० लाख ५२ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
गत आर्थिक वर्षमा कूल २४ करोड ४८ लाख रुपैयाँको छोकडा आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।