काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आज पनि हवाई उडान प्रभावित भएको छ । हुस्सु र कुहिरोको कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अधिकांश विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ ।
भिजिबिलिटीकै कारण विभिन्न गन्तव्यबाट आएका जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि केहीलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ ।
यसैक्रममा, आज बिहान बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्रीको ४४० विमान करिब ९ बजेतिर चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।
बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएकाले चन्द्रगढी डाइभर्ट गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । मौसम सफा भएपछि उक्त विमानलाई चन्द्रगढीबाट काठमाडौं फर्काइने जनाइएको छ
यस्तै, आजै मलेसियाबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजलाई पनि भारतको कोलकाता डाइर्भट गरिएको छ ।