काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपूँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ ।
गत वर्षको बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ पुग्ने छ । कम्पनीले त्यसपछि प्रतिकित्ता १०० रुपैयाँ दरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बरारबको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीको उक्त हकप्रद प्रस्ताव विद्युत् नियमन आयोगबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रक्रिया अघि बढ्ने छ ।