गति लिँदै ‘फास्ट ट्रयाक’, धमाधम पुल र सुरुङ निर्माण हुँदै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले गति लिन थालेको छ । निर्माण थालिएको ५ वर्षमा जम्मा २१ प्रतिशत प्रगति भएको आयोजनाले पछिल्लो समय भने गति लिएको हो ।

निर्माण अवधि अब ३ वर्ष मात्र बाँकी रहेको छ । तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेगरी कामको गति बढाइएको नेपाली सेनाले जनाएको छ । आयोजना अन्तगर्त हाल पुलहरू र ३ वटा सुरुङ बनाउने काम धमाधम भइरहेको छ ।

सेनाले २०८१ मंसिर मसान्त भित्रै निर्माण पूरा गर्ने गरी काम गरिरहेको सेनाका प्रवक्ता नारायण सिलवालले बताए । उनका अनुसार पुलहरू सकिने बित्तिकै निर्माणको भौतिक प्रगति देखिने छ ।

आयोजनामा स्पेसल ब्रिज १६ वटा, मेजर र मिडियम ब्रिज ४९ वटा र माइनर ब्रिज २२ वटा गरेर कुल ८७ वटा पुल रहेको छ । उनले सो मध्ये ४५ वटा पुलहरूको ठेक्का प्रक्रिया पूरा गरेर निर्माण प्रक्रिया सुरू गरिसकेको बताए । ४२ वटा पुल विभिन्न प्याकेजमा समावेश गरेर ठेक्का हुने प्रक्रियामा रहेको उनले बताए ।

‘हामीले ४५ पुल निर्माण गर्न ठेक्का लगाएर काम सुरू गरिसकेका छौँ, बाँकी ठेक्का प्रक्रियाको चरणमा छ, यो निर्माण हुना साथ प्रगति बढ्ने छ,’ सिलवालले चाणक्य पोष्टसँग भने ।

यस्तै फास्ट ट्रयाक अन्तर्गत ३ वटा सुरुङ बन्दै छ । त्यस मध्ये महादेवटारको सुरुङ ३.३५५ किलोमिटर, धेद्रेको १.६३० किलोमिटर र लेनडाँडाको १.४३० किलोमिटर सुरुङ खन्ने काम भइरहेको छ । यसरी सबै गरेर कुल ६.४१ किलोमिटर सुरुङ निर्माणको काम भइरहेको हो ।

यसमध्ये प्याकेज १ मा महादेवटार सुरुङ निर्माणमा दाँयातर्फ २०३ मिटर र बाँयातर्फ २३५ मिटर सुरुङ खन्ने काम भएको छ । प्याकेज २ मा धेद्रे र लेनडाँडाको सुरुङ निर्माण भइरहेको छ । यसमा धेद्रेतर्फ र लेनडाँडातर्फ समेत सुरुङ खन्ने कामले गति लिइरहेको उनले बताए ।

उनले अनुमति बिना सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्दा फास्ट ट्रयाक निर्माणलाई हाल कुनै असर नपरेको बताए । उनका अनुसार निर्माण सामग्री निर्यातमा रोकावट आए मात्र निर्माणमा समस्या आउने छ ।

‘नवीकरण नगरी सञ्चालन भइरहेको उद्योग बन्द गर्नु सही हो बन्द गर्नुपर्छ, हामीलाई त्यसले असर गर्दैन, पूर्ण रुपमा आपूर्ति नै बन्द गरे असर पर्छ,’ सिलवालले भने ।

उनले अहिले तत्काल भइरहेको काम सामान्य अवस्थामा चलिरहेको बताए । खासगरी पूर्वी र मध्य तराई÷मधेशबाट कम समय र छोटो दूरीमा देशको राजधानीसँग जोड्ने समृद्धिको आकांक्षा र उद्देश्य बोकेको आयोजनाप्रति नेपाली जनताको ठूलो आशा र भरोसा लुकेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा सुरू भएको उक्त द्रुतमार्ग आयोजना २०८१ सालको मंसिर मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ललितपुरको खोकनाबाट सुरू भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको लम्बाइ ७२.५ किलोमिटर छ ।

महादेवडाँडा, धेद्रे र लेनडाँडामा करिब ६.४१ किमी दोहोरो सुरुङसहितको द्रुतमार्गमा साना र ठूला गरी ८७ पुल रहने छन् । ती पुलको लम्बाइ १०.५९ किमी हुनेछ । पुल र सुरुङबाहेक सडकखण्ड ५५.५ किमी रहनेछ । द्रुतमार्ग सडक ललितपुरमा ७.९ किमी, काठमा डौंमा ४, मकवानपुरमा ५३ र बारामा ७.६ किमी पर्छ ।

आयोजनाको कुल लागत १ खर्ब ७५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको हालसम्मको  भौतिक प्रगति करिब २१.६४  प्रतिशत छ । आयोजनाका लागि गत आवसम्म ३७ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

अब बैंकहरूले अन्तर-बैंक कारोबार र तरलताको विवरण अनिवार्य पोर्टलमा राख्नुपर्ने Read Previous

अब बैंकहरूले अन्तर-बैंक कारोबार र तरलताको विवरण अनिवार्य पोर्टलमा राख्नुपर्ने

बम्पर लाभांश दिएको रिडी पावरले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने Read Next

बम्पर लाभांश दिएको रिडी पावरले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने