रोकियो नागढुंगा-नौबिसे सुरुङमार्गको काम, सरकारले क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण रोकिएको छ । निर्माण सामग्री ढुवानी हुन नसक्दा आयोजनाको काम रोकिएको हो ।

आयोजना प्रमुख रामहरी पोखरेलले बालुवा तथा गिट्टी अभावमा सुरुङमा कंक्रिटिङ गर्ने काम रोकिएको बताए । आयोजनाले धादिङको धुनिबेंसीबाट बालुवा ल्याएर काम गर्दै आएको थियो । तर, क्रसर व्यवसायीले ढुवानीमा अवरोध गरेपछि बालुवा ल्याउन नसक्दा काम रोकिएको पोखरेलले बताए ।

गृह मन्त्रालयले गत पुस २० गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैध क्रसर बन्द गराउन भनेको थियो । सोही अनुसार पछिल्लो दुई हप्ताको अवधिमा जिल्ला प्रशासनहरूले ७०० बढी अवैध क्रसर उद्योग बन्द गराएका छन् । मापदण्ड विपरीत उद्योग बन्दा गराएपछि क्रसर व्यवसायीले निर्माण सामग्री ढुवानी बन्द गराएका छन् ।

‘दैनिक दुई सिफ्टमा काम भइरहेको थियो । हामीले वैध क्रसरबाटै बालुवा ल्याउँदै आएका छौं,’ उनले चाणक्य पोष्टसँग भने, ‘तर, क्रसर व्यवसायीले ढुवानीमा अवरोध गरेपछि बालुबा नहुँदा काम रोकिन पुगेको छ ।’ बालुवा ढुवानी सहज बनाउन सरकारसँग आग्रह गरिएको उनले बताए ।

निर्माण सामग्री अभावमा काम रोकिन पुगेपछि ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्ति दाबी गर्नसक्ने उनले बताए । ‘काम गर्न सामान नभएपछि कामदार खाली बस्नुपर्ने अवस्था आएको छ । त्यसबापत उनीहरूले क्षतिपूर्ति माग्छन् । हामीले त्यो दाबी रकम तिर्नुपर्छ ।’

सरकारले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गराए पनि क्रसर व्यवसायीको दादागिरीले वैध उद्योग समेत संचालनमा अवरोध उत्पन्न भएको छ । जसले देशभरका विकास आयोजना प्रभावित हुन थालेका छन् ।

हालसम्म कति भयो काम ?

४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७६ कात्तिकबाट निर्माण सुरु भएको थियो । कोभिडका कारण थपिएको म्यादसहित आगामी असार मसान्त भित्र आयोजनाको काम सक्नुपर्ने हुन्छ । तर, हालसम्म करिब आधा पनि काम सम्पन्न भएकाले सो आयोजना समयमै सकिने देखिँदैन ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार पुस  हालसम्म समग्रमा ४७.९० प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, वित्तीयतर्फ ४९.५९ प्रतिशत प्रगति भएको छ ।

सुरुङ खन्ने काम भने ७३.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार २४५ मिटर सुरुङ (मुख्य र स्केप टनेल गरी) मध्ये हालसम्म ३ हजार ८२९ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ७८२.८० मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ८५१.२० मिटर र धादिङतर्फ ९३१.६० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म २ हजार ४६.२० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार ९८.६० मिटर र धादिङतर्फ ९४७.६० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म ३ हजार ८२९ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४.२० क्रस प्यासेज गरी कुल ४ हजार २९.२० मिटरको काम सम्पन्न भएको छ । त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१ मिटर निर्माण गरिएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ४७० मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

मोलुङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

मोलुङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

आँधीखोला लघुवित्त र नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

आँधीखोला लघुवित्त र नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?